सप्तरी र मोरङका २ संक्रमितको मृत्यु

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज–३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी–१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

डा.सापकोटाका अनुसार सप्तरीका ७० वर्षीय पुरुषमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण देखिएपछि गजेन्द्र नारायणसिंह अस्पताल राजविराज भर्ना भएका थिए । उनमा कोरोना पुष्टिभएपछि त्यहाँबाट वीपी प्रतिष्ठानमा रेफर भएका थिए । उनमा भदौ २५ गते गजेन्द्र नारायणसिंह अस्पतालमा कोरोना पुष्टि भएको थियो ।

उनलाई भदौ २८ गते राति वीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारका क्रममा रहेका उनको असोज ८ गते राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै अर्का मृत्यु भएका कोरोना संक्रमित मोरङका ५५ वर्षीय पुरुष आन्द्राको क्यान्सर भएर जटिल शल्यक्रिया भएको र शरीरको अन्य भागमा पनि क्यान्सर फैलिसकेको अवस्थामा थिए । उनमा असोज ८ गते कोरोना पुष्टि भएको थियो । ती पुरुषको ८ गते राति ८ बजेर ३० मिनेटमा मृत्यु भएको डा सापकोटाले जानकारी दिए ।