जडिबुटीमा भेटिएको महिलाको शवः मदिराको नशामा झगडा हुँदा हत्या

काठमाडौं । काठमाडौंको जडिबुटीमा बुधवार एउटा निर्माणाधिन घरमा महिलाको शव भेटिएको थियो ।

सो शव सुशीला नेपालीको भएको खुलेको छ । सिन्धुली घर बताइएको सुशीलालाई कुटपिट गरेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुलीका ३६ वर्षीय गोपाल तामाङलाई पक्राउ गरेको छ ।

बिहीबार सिन्धुपाल्चोकबाट पक्राउ गरेर गोपाललाई काठमाडौं ल्याइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए । सडकमा बस्ने, प्लाष्टिक र कार्टुन संकलन गरेर गुजारा चलाउने सुशीला र गोपाल आफूलाई श्रीमान्–श्रीमती बताउँथे । दैनिक मदिरा सेवन गरेर झगडा गर्थे ।

बुधवार पनि मदिरा सेवन गरेर गोपालले उनलाई कुटपिट गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्याबारे महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर राजन लामाको टोलीले अनुसन्धान गरेर आरोपी पहिचान गरेको थियो । आरोपी गोपाल तामाङ सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटाका स्थानिय हुन् । सुशीलाको मृत्युपछि उनी भागेर सिन्धुपाल्चोक पुगेका थिए ।