किन लुकायो स्वास्थ्य मन्त्रालय कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ?

काठमाडौं । नेपालमा कोभिड १९ का कारण थप ६१९ जनाको मृत्यु भएको तथ्यांक आज (बुधबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ ।

यसअघि मन्त्रालय र शव व्यवस्थापनमा खटिएको नेपाली सेनाको तथ्यांक नमिलेको अवस्थामा मन्त्रालयको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले थप ६१९ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।  मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृतकको संख्या यकिन गर्न सीसीएमसीलाई जिम्मा दिइएकामा आज अन्तिम तथ्यांक आइपुगेको हो । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या दुई हजार ६८४ पुगेको छ ।

०७७ जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको जिम्मा नेपाली सेनलाई दिने निर्णय गरेको थियो । सोही जिम्मेवारीअनुसार सेनाले शवहरूका आधारमा मृतकको तथ्यांक सार्वजनिक गर्दै आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संस्थागत आइसोलेसनमा मृत्यु हुनेको संख्यालाई आधार मानेको थियो । यो अवधिमा मन्त्रालयको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले तथ्यांक संकलन तथा अध्ययनको काम गरिरहेको थियो ।

०७६ चैत १६ गते गठन गरेको सीसीएमसीमा एक महिनामै तीन संयोजक फेरिएका थिए । तर ०७७ कात्तिकदेखि भने सेनाको तथ्यांकमाथि पनि अध्ययन भइरहेको थियो । त्यसयता दुई निकायबीच तथ्यांकका विषयमा सहकार्य हुँदै आए पनि मन्त्रालयले मृतकको यकिन तथ्यांक सार्वजनिक गर्न सकेको थिएन ।

प्रवक्ता डा.गौतमका अनुसार बुधबार मन्त्रालयमा भएको अन्तिम छलफलले थप ६१९ जनाको मृत्यु भइसकेको निष्कर्ष निकालेको हो । योसँगै मन्त्रालयले संस्थागत आइसोलेसनमा रहेका भनिएका एक हजार ५३३ जनामध्ये ५२५ जनाको मृत्यु भइसकेको पुष्टि गरेको हो । बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ९३७ जना भएको मन्त्रालयको तथ्यांक छ ।