देशभर एकैदिन थप ४९६ कोरोना संक्रमित थपिए ,१३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप १३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो भने विभिन्न समयमा कोरोनाले ज्यान गुमाएका ५ जनाको विवरण सोही अवधिमा प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

योसँगै हालससम्म नेपालमा ३ हजार ५३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा थप ४९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३८ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म २ लाख ७४ हजार १६५ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको मन्त्रालयले जनाएको छ ।  नेपालमा पछिल्लो एक साताको विवरण हेर्दा कोरोना संक्रमितको दर बढ्दो देखिएको छ । गत सोमबार चैत २३ गते नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो भने २६६ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी चैत २४ गते मंगलबार २६० जनामा संक्रमण पुष्टि भएको थियो । २५ गते बुधबार तीन जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए भने २९८ जना संक्रमित थपिएका थिए ।

चैत २६ गते विहीबार संक्रमितको संख्या केही बढेको थियो । उक्त दिन ३३२ जनामा संक्रमण देखिएको थियो । यसैगरी चैत २७ र २८ गते संक्रमितको संख्या क्रमशः २८८ र ३३७ थियो भने २८ गते एक संक्रमितको मृत्यु भएको थियो ।

त्यस्तै आइतबार (हिजो) ३०३ जनामा कोरोना पुष्टि भएको थियो भने २ जनाले ज्यान गुमाएका थिए । एक साताको तथ्यांक हेर्दा आज सबैभन्दा बढी ४९६ जनामा कोरोना पुष्टि भएको छ भने ज्यान गुमाउनेको संख्या पनि बढेको छ ।