भारतमा एकैदिन थप ३ लाख ७९ हजार संक्रमित ,३६ सय ४७ संक्रमितको मृत्यु

एजेन्सी । भारतमा एकैदिन ३६ सय ४७ संक्रमितको मृत्यु भएको छ ।

संक्रमण फैलिए यता भारतमा एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि बुधबार २४ घण्टामा ३२ सय ८५ जनाको मृत्यु भएको थियो ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ४ हजार ८१२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ३ लाख ७९ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार आठौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ८३ लाख ६८ हजार ९६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५० लाख ७८ हजार २७६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३० लाख ८५ हजार ८ छ ।  यसैबीच मृतकको संख्या बढ्दै जाँदा भारतको नयाँ दिल्लीमा अन्तिम संस्कारका लागि ठाउँ अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।