क्रिकेटर सन्दिप लामिछानेविरुद्ध जारी भएको ‘डिफ्युजन’ नोटिस के हो र कसरी उनलाई नेपाल ल्याईन्छ ?

काठमाडौं । हालै अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लेनाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।

के हो डिफ्युजन नोटिस ?

सन्दीपको खोजीका लागि इन्टरपोलको नेपाल शाखाले हेडक्वार्टरलाई अनुरोध गरेपछि डिफ्युजन नोटिस जारी भएको हो।

वारेन्ट जारी भइ नेपालमा नरहेको अवस्थामा कानुनअनुसार अभियुक्तहरूलाई पक्राउ गर्नको लागि डिफ्युजन नोटिस जारी गरिन्छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी सीताराम रिजालका अनुसार डिफ्युजन नोटिसको अर्थ पनि अभियुक्तलाई पक्राउ गरेर नेपाल पठाउने हो । सदस्य राष्ट्रहरूले ‘डिफ्युजन’ भनेर चिनिने अर्को अलर्ट मेकानिजम मार्फत एकअर्काबाट सहयोगको लागि अनुरोध गर्न सक्छन्।

यो सूचनाभन्दा कम औपचारिक हो र एनसीबीद्वारा सिधै हाम्रा सबै वा केही सदस्य देशहरूमा प्रसारित हुन्छ।

डिफ्युजन नोटिसले इन्टरपोलको संविधान र डाटाको प्रशोधनसम्बन्धी नियमहरूको पनि पालना गर्नुपर्छ।

डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आवद्ध १३५ देशले आफ्नो देशमा सन्दीप रहेको फेला पारे समातेर नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछन् ।

प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी छिन् र उनले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालय उजुरी दिएकी थिइन्।

जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गत भदौ २३ गते नै क्यानको कार्य सम्पादन समितिको निर्णय भन्दै उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो।

आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लगाउन सकेको छैन ।

यसैबीच सन्दिपले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू निर्दोश रहेको र आफूलाई फसाउन खोजिएको भन्दै केहि दिनमा नेपाल आउने र कानूनलाई सहयोग गर्ने बताएका छन् ।