युक्रेनका चार वटा क्षेत्र आफ्नो मुलुकमा गाभिएको रुसको घोषणा

एजेन्सी । रुसले युक्रेनका चार वटा क्षेत्रलाई औपचारिक रुपमा गाभेको छ ।

मस्कोको रेड स्क्वायरमा आयोजित समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्स्क रुसमा गाभिएको घोषणा गरेका छन् ।

यसअघि क्रेमलिनको सेन्ट जर्ज हलमा रुसमा गाभिने क्षेत्रका पृथकतावादी नेताहरू र रुसी अधिकारीहरूबीच सम्झौतामा हस्ताक्षर भएको थियो । चार दिन अघि रुसले ती क्षेत्रहरुमा जनमत संग्रह गराएकोमा ९० प्रतिशत बढी मत रुसमा गाभिने पक्षमा आएको दाबी गरिएको थियो ।

संयुक्त राष्ट्रसंघ, युक्रेन र उसका साझेदारहरूले ती जनमतसंग्रहलाई गैरकानूनी भन्दै आलोचना गर्दै आएका छन् । राष्ट्रसंघले त्यसरी अर्को देशको भूमि आफूमा गाभ्नुले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हुने जनाएको थियो । रुसले ती क्षेत्रमा नियुक्त गरेका नेताहरूले औपचारिक पत्रमा हस्ताक्षर गरेका छन् ।

यता, युरोपेली युनियनअन्तर्गतका देशहरूले रुसको कदमको स्पष्ट रुपमा निन्दा गर्दै त्यसलाई अस्वीकार गर्ने बताएका छन् । युक्रेनी भू-भागलाई आफूमा गाभ्ने रुसको कदमलाई उनीहरूले गैरकानूनी भनेका छन् । एउटा संयुक्त विज्ञप्तिमा ती देशका नेताहरूले त्यसरी गाभिएको क्षेत्रको पहिचान कहिल्यै नगरिने बताएका हुन् ।

उनीहरूले रुसको त्यस्तो कार्यले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको बताएका छन् । युक्रेनसँगको ऐक्यबद्धता पनि उनीहरूले दोहोर्‍याएका छन् । रुसको परमाणु धम्कीले आफूहरूको सङ्कल्प नडग्मगिने पनि उनीहरूले बताएका छन् ।

युरोपेली आयोगकी प्रमुख उर्जुला फोन डेर लायनले पुटिनको कदमले केही पनि परिवर्तन नगरेको बताए । यसअघि थुप्रै नागरिकहरू ज्यापोरिज्यास्थित रुसी हमलामा मारिएको र घाइते भएको भन्ने विवरण आएका थिए । कियभले भने आफ्नो कब्जा गरिएका क्षेत्र फिर्ता गर्नका लागि संघर्ष निरन्तर राख्ने जनाएको छ ।

यसअघि सन् २०१४ मा पनि रुसले युक्रेनको क्राइमिया पनि आफूमा गाभेको थियो ।