पश्चिम तराईमा महामारीको रुप लिँदै डेंगु

बुटवल । पश्चिम तराईका सबै जिल्लाका अस्पतालमा डेंगु संक्रमण भएका विरामीको चाप छ । खासगरी दाङ, रुपन्देही, कपिलबस्तु, बाँके र बर्दियामा साउनयता सुरु भएको डेंगु संक्रमणको ग्राफ अझै उकालो लाग्ने क्रममा छ ।

दाङमामात्रै असार यता १ हजार ४ सय बढीमा डेंगु संक्रमण पुष्टि भइसकेको छ । चार जनाको मृत्यु भएको छ । संक्रमितको यो संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य कार्यालय दाङका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा ७१ जना, ०७७/७८ मा १५ र ०७८/७९ मा संख्या ६ जनामा मात्रै डेंगु संक्रमण देखिएको थियो ।

रुपन्देहीमा पनि डेंगु संक्रमणको दर उच्च छ । लुम्बिनी प्रादेशिक अस्पताल डेंगु संक्रमणका विरामीले भरीभराउ छ । रुपन्देहीमा डेंगु संक्रमितको संख्या करिब ८ सय पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, बुटवलका प्रदेशभर यो वर्ष असोज १३ सम्म ३ हजार ५० बढीमा डेंगु संक्रमण पुष्टि भएको छ ।

पहाडी जिल्लामा पनि डेंगु

सामान्यतया तराईका जिल्लामा देखिने डेंगु यसपटक भने पहाडी क्षेत्रमा पनि देखिन थालेको छ । यो वर्ष लुम्बिनी प्रदेशकै पहाडी जिल्लामा पनि डेंगु संक्रमणका विरामी भेटिएका छन् । यसपटक भने प्रदेशकै १२ वटै जिल्लामा डेंगुका विरामी भेटिएको निर्देशनालयले बताउँछ । लुम्बिनी प्रदेशका प्युठान, रुकुम पूर्व, पाल्पा, अर्घाखाँची, र रोल्पा डेंगुका बिरामी बढिरहेका छन् ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पतालमा पनि पहाडी जिल्लाका विरामीहरु भर्ना भइरहेका छन् । राप्ती स्वास्थ्य प्रतिष्ठानमा रुकुम, रोल्पा र प्युठानका जस्ता पहाडी जिल्लाका विरामी पनि डेंगु लक्षण भएका विरामी आएका छन् ।

बाँकेको भेरी अस्पतालमा पनि कर्णाली र सुदूपश्चिम प्रदेशका जिल्लाबाट भेरी अस्पतालमा डेंगु संक्रमितहरू आउने गरेका छन् । ‘पहाडबाट पनि डेंगु लक्षणका विरामी आइरहेका छन् । यसले तराई मात्र होइन, पहाड पनि डेंगु छ भन्ने पुष्टि हुन्छ’ प्रतिष्ठानका फिजिसियन डा. रमेश कडेल भन्छन् ।