स्पेन र अर्जेन्टिनाका रोचक संयोग

काठमाडौं। स्पेन र अर्जेन्टिना महादेशीय फुटबल च्याम्पियनसिपको विजेता बने। स्पेनले युरो कप जित्यो भने अर्जेन्टिनाले कोपा अमेरिका।

करिब ७ घण्टाको फरकमा सम्पन्न भएका दुई फाइनलमा स्पेनले इङ्गल्यान्डलाई २(१ र अर्जेन्टिनाले कोलम्बियालाई १(० गोलले हरायो। यी सफलतामा दुवै टोली महादेशीय च्याम्पियनसिप सर्वाधिक जित्ने टोली बनेका छन्।

स्पेनले चार पटक युरो र अर्जेन्टिनाले १६ पटक कोपा अमेरिका जितेका हुन्। यसअघि युरोपमा जर्मनी र स्पेनले समान तीन पटक युरो कप जितेका थिए।

सन् १९६४ मा पहिलो पटक युरोपियन च्याम्पियन बनेको स्पेनले सन् २००८ र २०१२ मा लगातार विजेता बनेको थियो।

जर्मनीले सन् १९७२,१९८० र १९९६ मा युरो कप जितेको थियो। यता कोपा अमेरिकामा यसअघि उरुग्वे र अर्जेन्टिनाले सर्वाधिक १५ पटक उपाधि जितेका थिए।

सन् २०२१ को संस्करणमा ब्राजिललाई हराएर उसले २८ वर्षपछि कोपा अमेरिका जितेको थियो भने सर्वाधिक उपाधि जित्ने टोलीका रूपमा उरुग्वेको कीर्तिमान बराबरी गरेको थियो।

यस्तै स्पेनका लेमिन यमाल र अर्जेन्टिनाका लियोनल मेस्सीबीच पनि अनौठो संयोग बनेको छ। यी दुवै खेलाडी बार्सिलोनाको एकेडेमी ला मासियाका उत्पादन हुन्।

उनीहरू झन्डै एक दशक ला मासियामा बसेका थिए। सोमबार सम्पन्न कोपा अमेरिका र युरो कप सुरु हुनुअघि यमाल बार्सिलोनाका लागि सबैभन्दा कम उमेरका गोल गर्ने खेलाडी थिए भने मेस्सी बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी।

युरो कपमा प्राप्त सफलताले यमाल सबैभन्दा कम उमेरमा युरो कप खेल्ने, युरो कपमा गोल गर्ने र युरो कप जित्ने खेलाडी बनेका छन्। यमालले आफ्नो आदर्श मेस्सी भएको बताउँदै आएका छन्।

तीन दिनअघि मात्र १७ औँ जन्मदिन मनाएका यमालले युरो कप खेलिरहेका बेला उनका बाबुले सामाजिक सञ्जालमा तस्बिरहरू सार्वजनिक गरेका थिए जुन १६ वर्षअघि मेस्सीले यमाललाई बोक्दै गर्दा खिचिएको थियो।

उक्त तस्बिर सार्वजनिक भएपछि फोटोग्राफर पनि आश्चर्यमा परेका थिए, मेस्सीसँग तस्बिर खिचिएका ती बालक यमाल हुन् भनेर।

अब युरोकप र कोपा अमेरिकाको विजेताका रूपमा स्पेन र अर्जेन्टिना केही समयमा प्रतिस्पर्धा गर्नेछन्। यसले यमाल र मेस्सीलाई आमनेसामने गराउन सक्ने छ।

यसअघि स्पेन सन् २०१२ मा युरो कपको उपाधि जोगाउने पहिलो युरोपेली टोली बनेको थियो। त्यति बेला स्पेनले सन् २००८ र २०१२ मा युरो कप र २०१० मा विश्वकप जितेको थियो।

स्पेन सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप जित्दै युरोपबाहिर आयोजित विश्वकप हात पार्ने पहिलो युरोपेली टोली बनेको थियो।

अहिले अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जोगाउँदै त्यसबीचमा विश्वकप पनि जितेको छ, १२ वर्षअघि स्पेनले गरेजस्तै।