प्रचण्डका ज्वाईँलाई मोरङबाट र बाबुरामकी छोरीलाई काठमाडौंबाट टिकट

विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङमा प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभातर्फ तीन वटा क्षेत्र पाएको माओवादी केन्द्रले पाँच जना उम्मेदवार टुङ्गो लगाएको छ । सोही क्रममा माओवादी केन्द्रले मोरङको क्षेत्र नम्बर ६ को (क) बाट जीवन आचार्यले टिकट पाएका छन् । आचार्य माओवादी अध्यक्ष प्रचण्डका कान्छा ज्वाइँ हुन् ।

२०७४ सालको निर्वाचनमा तत्कालिन वाम गठबन्धनबाट उम्मेदवार बनेका आचार्य तत्कालीन कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग पराजित भएका थिए । यो पटक तबदारलाई कांग्रेसले प्रतिनिधिसभा तर्फको समानुपातिक सूचीमा राखेको छ ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी र क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस भएको थियो । उनीहरु दुबैले सिफारिस भएको स्थानबाट टिकट पाएका हुन् ।

यसै क्रममा लामो समयपछि बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रचण्डको मिलन भएपछि बाबुरामकी छोरी मनुषी यमीलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट गठबन्धनले टिकट दिएको छ । मनुषीले टिकट पाएकी क्षेत्र यस अघि उनकी आमा हिसिला यमीको क्षेत्र हो भने बाबुराम भट्टराईले लामो समयदेखि चुनाव लड्दै आएको गोरखाको क्षेत्र नम्बर २ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुम्पेका छन् र त्यस क्षेत्रमा भट्टराई आफूले दिलो ज्यान दिएर प्रचण्डलाई जिताउन लागि पर्ने बताईसकेका छन् ।