बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल

प्रचण्डले राखे एमसीसी संशोधनको प्रस्ताव

काठमाडौं । सत्तारूढ गठबन्धनका तीन शीर्ष नेताबीच आज बालुवाटारमा भेटवार्ता भएको छ। अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदमा प्रस्तुत गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बालुवाटारमा छलफल भएको हो ।

बालुवाटार स्रोतका अनुसार तीन नेताहरूबीच स्थानीय तहको चुनाव र एमसिसीबारे छलफल भएको थियो । सोही क्रममा माओवादी केँद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई संशोधन गर्ने प्रस्ताव राखेको बालुवाटार श्रोतले जनाएको छ ।

एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम्म टेबुल गरिएको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका बेला नेताहरू छलफलमा जुटेका हुन् । गठबन्धन दलकै शीर्ष नेताहरूबीच एमसीसीबारे फरक फरक धारणा सार्वजनिक हुँदै आएको छ । पाँच दलीय सत्ता गठबन्धनबीच संसदको अर्को बैठकमा एमसिसी टेबल गर्न सहमति भएको छ।

एमसिसीलाई लिएर गठबन्धन तोड्ने वा टुटाउनेबारे आएका समाचारमा कुनै सत्यता नभएको पनि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए । गठबन्धन एउटा विशिष्ट परिस्थितमा विशेष उद्देश्यका साथ निर्माण भएको हो। यसलाई तोड्ने वा टुटाउने कुरा सत्य होइन। यसबारे आएका समाचारमा कुनै सत्यता छैन,ु उनले भने, ‘गठबन्धनमा कुनै समस्या छैन। हामी यसमा एक भएर अगाडि जान्छौं।’

कार्कीले मुलुकको पूर्वाधार निर्माणका लागि अमेरिकाले दिएको यो अनुदान सहायता राष्ट्रिय हितमा रहेको र अमेरिकी सैन्य रणनीतिको अंग हुनै नसक्ने बताए।

उनले ५० वटा देशले एमसिसीबाट लाभ लिइरहेको र मंगोलिया, इन्डोनेसियाजस्ता देश त दोस्रो चरणको सम्झौतामा अगाडि बढिसकेको बताए।

गठबन्धन दलका शीर्ष नेताहरूबीच दस दिनपछि बस्ने संसद बैठकमा एमसिसी टेबल गर्नेबारे मोटामोटी सहमति भएको बालुवाटार स्रोतले बतायो। यही सहमतिलाई अन्तिम रूप दिन आइतबार बस्ने भनिएको संसद बैठक १० दिन सारिएको स्रोतको भनाइ छ।