४५ वटा कम्पनीले लिए ब्रोकर लाइसेन्सका लागि सिफारिस

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट ४५ वटा कम्पनीले ब्रोकर व्यवसायका लागि सिफारिस लिएका छन् ।

नेपाल धितोपत्र बोर्डमा आवेदन दिने अन्तिम दिनसम्म ती कम्पनीहरूले धितोपत्र व्यवसाय सञ्चालन अनुमतिका लागि नेप्सेबाट सिफारिस लिएका हुन् । ४५ कम्पनीमध्ये एउटा एक अर्ब ५० करोड चुक्तापुँजी भएको कम्पनीले धितोपत्र व्यापार गर्न सिफारिस लिएको हो । त्यसैगरी ६० अर्ब चुक्तापुँजी भएका तीनओटा कम्पनीले नेप्सेबाट सिफारिस लिएका छन् । २० करोडदेखि ३० करोडसम्म चुक्तापुँजी भएका कम्पनी ४१ वटा रहेका छन् ।

एक अर्ब ५० करोड चुक्तापुँजी भएको नबिल सेक्युरिटिज लिमिटेड रहेको छ । त्यसैगरी ६० करोड चुक्तापुँजी हुनेमा मेगा स्टक मार्केट्स लिमिटेड, हिमालयन सेक्युरिटिज लिमिटेड र सेन्चुरी सेक्युरिटिज लिमिटेड रहेका छन् ।

बोर्डले सेयर ब्रोकरहरूलाई सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यापारी गरी तीन प्रकारमा विभाजन गरेको छ ।

नेप्सेले धितोपत्र व्यवसाय सञ्चालनका लागि तोकिएको मापदण्ड पूरा गरेर कम्पनीलाई लिखित रूपमा सिफारिस दिँदै आएको छ । नेप्सेको सिफारिसका लागि आएका आवेदनमध्ये कुनै पनि कम्पनी मापदण्ड नपुगेका कारण फिर्ता नभएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

धितोपत्र दलाल व्यवसाय गर्न चाहनेले कम्पनी कानुनमा तोकिएको मापदण्ड पूरा गरी नेप्सेको सिफारिससहित धितोपत्र बोर्डमा आवेदन दिनुपर्नेछ । धितोपत्र बोर्डमा दिएका आवेदनमाथि बोर्डले आवश्यक अध्ययन गरेर उपयुक्त लागेका कम्पनीलाई धितोपत्र व्यवसायीको अनुमतिपत्र प्रदान गर्नेछ ।