ओडारबाट घरमा सरे चेपाङ

चितवन– नयाँ पिँडीमा दुईवटा काठको फलेकमाथि बोरा ओछ्याएर आगन्तुकलाई नमस्कार गर्दै थिए ८० वर्ष नाघेका रुपसिंह चेपाङ (प्रजा) । बिहीबार बिहानसम्म उनी ओडारमै थिए ।

दाताको सहयोगमा नयाँ घर बनेपछि बिहीबारमात्रै स्थानीयवासीले उनलाई सारेर नयाँ घरमा भित्र्याए । पिँडीमा हँसिलो मुद्रामा देखिएका रुपसिंहका सबै दाँत किराले खाएर कालै देखिन्थ्यो । आगन्तुकसँगै मजैले गफिँदै पनि थिए ।

‘घर त बनायो, के खाएर बाँच्ने, खानेकुरो दिनुप¥यो, पैसा दिनुप¥यो, घर त टोक्न सक्तैन हजुर’ राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, केही वडाध्यक्ष, पत्रकारका अगाडि उनले भने । ओडारमा बस्दा जंगली कन्दमुल खाने र छोरी ज्वार्इंले दिएको अनाज खाएर बस्थे रुपसिंह ।

माटोको गाह्रो र जस्ताको छाना भएको घर बनेको छ । घर उद्घाटनका लागि बिहीबार ध्वजा पताकासहित बेलुन फुलाएर रंगिन पारिएको थियो । अतिथिहरुका लागिसमेत गाउँमा भोज थियो ।

चितवनको विकट क्षेत्र राप्ती नगरपालिका–११ मा पर्ने साविक लोथर गाविसको युर्ती भन्ने स्थानमा पाखो बारीको कान्लोमा घर छ । माथि सडकबाट ढुंगो गुल्टियो भने सिधै घरको धुरीमा पुग्छ । पहिरो गयो भने घर नै पुरिने अवस्थाको छ । यसअघि पनि ओढारमा बस्दा पहिरोले पुरेकाले सानो प्वालबाट निस्किएको अनुभव स्थानीयवासी सुनाउँदै थिए ।

दशकौँदेखि ओडारमा बस्दै आएका रुपसिंहलाई यसपटक बेल्जियममा बस्ने चितवनका कृष्णप्रसाद रेग्मीलगायतले संकलन गरेर पठाएको करीब पाँच लाख लागतमा नयाँ घर बनाइएको थियो ।

बिहानसम्म ओडारमा बस्दै आएका उनी दिउँसोदेखि त्यही नयाँ घरमा सरेका छन् । उनलाई राप्ती नगरपालिकाकी प्रमुख बरालले घर सारे। रिबन काटेर बरालले घरको उद्घाटनसमेत गरे ।

घर निर्माण गरेकामा प्रशंसा गर्दै नगरप्रमुख बरालले अब गाउँगाउँमा सस्तोमा जग्गा बेच्नबाट रोक्न स्थानीयवासीलाई आग्रहसमेत गरे । चेपाङका लागि शिक्षा क्षेत्रमा आवासीय रुपमा स्थानीय सरकारले लगानी गर्नेसमेत उनले बताए ।

घरमाथि खोरिया फाँडेकाले अब भने पहिरोको जोखिम भएको भन्दै उहाँले यसतर्फ सचेतसमेत गराए । घर भए पनि वृद्ध रुपसिंहलाई खाने अन्नको समस्या रहेको स्थानीय रुपेश चेपाङको भनाइ छ ।

‘बास त दियो तर खाना छैन, अस्तिदेखि नै त्यही भन्दै हुनुहुन्छ’, रुपेशले दुखेसो पोदखे । आज घर सरेपछि रुपसिंहको बस्ने ओडारमा बाख्रा र सुँगुर पनि सारिएको छ ।

चेपाङका अगुवा भ्mयापुराम प्रजाले ओडारमा बस्ने चेपाङका लागि घर बनेकामा खुशी व्यक्त गरे । यस्तै सहयोग अन्तबाट पनि आउनुपर्नेमा उनको भनाइ थियो ।

घर सार्ने कार्यक्रममा स्थानीय चेपाङले गिँठा, भ्याकुर र चिउरीको माला लगाइदिएर अतिथिलाई स्वागत गरेका थिए । सोही क्रममा चेपाङ संरक्षण केन्द्रका केपीकिरण शर्मा र पत्रकार तुलमान गुरुङलाई सम्मान गरिएको थियो ।