प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन निर्बाचन– अध्यक्ष थापा

हेटौंडा– उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन र वर्तमान संविधानलाई कार्यान्वयन गर्नेतर्फ आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई अनिवार्यरुपमा सफल तुल्याउन प्रमुख दलहरु नै सक्रिय हुनुपर्ने बताए ।

 

उनले राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज हेटौँडामा आयोजित दुईदिने प्रशिक्षण प्रशिक्षक शिविरको उद्घाटन गर्दै मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन निर्वाचन नै प्रमुख माध्यम रहेको चर्चा गरे ।

उनले राष्ट्रमा राजनीतिक परिवर्तन भए पनि जनताले आर्थिक समृद्धि, मौलिक हकको प्रत्याभूति र आर्थिक आत्मनिर्भर महसुस गर्न नसकेकाले अहिले हुन लागेको निर्वाचनबाट जनताको मुहारमा उज्यालो छर्ने बताए ।

कार्यक्रममा राप्रपाका केन्द्रीय प्रशिक्षण संयोजक भुवन पाठकले राष्ट्रको स्वतन्त्रता, संसदीय प्रजातन्त्रको सुदृढीकरणका साथै जनताको आर्थिकस्तर माथि उठाउन र पार्टीको नीति सिद्धान्तलाई जनताको घरदैलोमा पु¥याउन पार्टीले निर्वाचनका क्रममा पार्टीका केन्द्रीय पदाधिकारी, जिल्लाका पदाधिकारीलाई प्रशिक्षण दिन लागेको बताए ।

दुई दिनसम्म चल्ने उक्त प्रशिक्षणमा प्रदेश नं १, २ र ३ का जिल्लास्तरका अध्यक्ष, सचिव, कोषाध्यक्ष र केन्द्रीय पदाधिकारी गरी २५५ जनाको सहभागिता रहेको प्रशिक्षण आयोजक समितिले जनाएको छ ।