बाँसखर्कको सुन्तला उत्कृष्ट

फलेवास, पर्वत– जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादन भएका सुन्तला पश्चिमाञ्चलकै उत्कृष्ट ठहरिएका छन् ।

हालै पोखरामा भएको पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत विभिन्न जिल्लाका सुन्तलाको परीक्षणमा यहाँको सुन्तला उत्कृष्ट ठहरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अन्य जिल्लाका सुन्तलाभन्दा सबैभन्दा रसिलो र स्वादिलो रहेको कृषि प्राविधिकको ल्याब परीक्षणबाट पत्ता लागेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए ।

कृषि विकास मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालय, पोस्ट हार्भेस्ट निर्देशनालय लगायतका निकायले संयुक्त रुपमा सुन्तलाको परीक्षण गरेका थिए । गत आइतबार गरिएको परीक्षणमा पर्वतको सुन्तला उत्कृष्ट रहेको ठहर गरेको रेग्मीले बताए ।

जिल्लामा अन्य ठाउँको भन्दा बाँसखर्कको सुन्तला स्वादिलो देखिएको रेग्मीले बताए । उक्त परीक्षण शिविरमा पर्वतलगायत स्याङ्जा, तनहुुँ, कास्की, म्याग्दी, बागलुङ, लमजुङ, तनहुँ, गोर्खा लगायतका जिल्लाका किसानका सुन्तलाको ल्याब परीक्षण गरिएको हो ।

उपयुक्त भू–बनोट, उत्तरी मोहडा फर्किएको क्षेत्र, बगैँचा सुधार, पर्याप्त मल र सिँचाइको व्यवस्थाका कारण बाँसखर्कको सुन्तला स्वादिलो हुने गरेको कृषि प्राविधिकले बताएका छन् । बाँसखर्कको सुन्तलाको दानाको आकार पनि ठूलो हुने गरेको छ । यो गाउँको मुख्य बाली नै सुन्तला हो । मगरको बाहुल्यता रहेको बाँसखर्कका २६१ घरधुरीमध्ये २०० भन्दा बढीले व्यावसायिक रूपमै सुन्तला खेती गर्दै आएका छन् । गाउँको मुख्य बालीका रुपमा सुन्तला रहेको छ । अन्नबाली छाडेर यहाँका किसान विगत एक दशकदेखि सुन्तलामा निर्भर हुन थालेका हुन् ।

बोटभरि लटरम्मै पाकेका सुन्तलाले मंसिरदेखि माघको अत्यसम्म यो गाउँ पहेँलपुर देखिने गरेको छ । यहाँको सुन्तला बजार पठाउन अझै योग्य भइसकेका छैनन्, पुस अन्तिम सातादेखि माघ अन्तिमसम्म मात्रै बिक्री हुने गरेको स्थानीय कृषक जगतबहादुर खत्रीले जानकारी दिए । पहिला बाँसका घारी मात्रै हुने भएकाले बाँसखर्क नामाकरण गरिएको हो ।

सुन्तलाको आम्दानीले बेनी, बाग्लुङ, कुस्मा, पोखरा, चितवन, काठमाडौँ लगायतका शहरमा घरघडेरी जोडेका परिवार पनि यो गाउँमा रहेका छन् । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न ‘बजारमारे सुन्तला उत्पादन सहकारी’ समेत स्थापना गरिएको छ । गाउँभरिका सुन्तलाको बिक्री सहकारीमार्फत नै गर्ने गरिएको छ । विसं २०६९ मा स्थापना भएको सहकारीले घरैबाट सुन्तला टिपेर राजधानी काठमाडौँदेखि चितवन, पोखरासम्मका बजार पु¥याउने गरेको छ । उत्तरी मोहडामा फैलिएर ९०० देखि एक हजार ३०० मिटर उचाइको यो गाउँका किसानले हत्तपत्त टिप्दैनन् ।

पछिल्लो दुई वर्षयता बाँसखर्कलाई ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत सुन्तला पकेट क्षेत्र घोषणा भएपछि किसानलाई रोग कीराको व्यवस्थापन, सुत्तला टिप्ने मेशिन, कलमी बिरुवा उत्पादन लगायतमा सहुलियत र सहज भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।