कञ्चनपुरका आठसय महिलालाई मनोविमर्श सेवा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा र बेदकोट नगरपालीकाका ८०० महिलालाई मनोविमर्श सेवा प्रदान गरिएको छ ।द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र, कञ्चनपुरले सञ्चालन गरेको शान्तिका लागि स्थानीय क्षमता कार्यक्रमअन्तर्गत मनोविमर्श सेवा प्रदान गरिएको हो ।

एकल महिला, घरेलु हिंसामा परेका, जातीय विभेद, यौनजन्य हिंसामा परेका महिलालाई विशेषज्ञता हासिल गरेका मनोविमर्शकर्ताको सहयोगमा मनोविमर्श सेवा प्रदान गरिएको केन्द्रका अध्यक्ष सीता बोहराले बताए ।‘१२ जना शान्तिदूतलाई परिचालन गरी पीडामा रहेका महिलाको खोजी गरी मनोविमर्श सेवा दिने गरेका छौँ,’ उनले भने, ‘जसका लागि शुक्लाफाँटा र बेदकोटमा गरी दुईवटा शान्ति केन्द्र स्थापना गरिएको छ ।’

केन्द्रमै मनोविमर्श सचेतनासँगै स्वस्थ रहने तरिकाबारे जानकारी दिइने गरिएको छ । व्यक्तिगतरुपमा ५५ जना र सामुदायिक समूहमा ८३६ जनालाई मनोविमर्श सेवा प्रदान गरिएको कार्यक्रम अधिकृत डम्बरी विष्ट (कुँवर)ले बताए । ‘विशेषगरी द्वन्द्वपीडित एकल महिला र उनीहरूका बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेका छौँ’ उनले भने ।

सामाजिकरुपमा पछाडि परेका महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक अधिकार स्थापित गरी आत्मनिर्भर बनाउनका लागि रु पाँच लाख १० हजार रकम परिचालन गरी सीपमूलक र आयमूलक कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । रासस