काठमाडौं (पास)– गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ ।
श्रम बजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको संख्या बढेको मन्त्रालयका प्रबन्ध निर्देशक इन्द्रदेव पाण्डेले बताए । ‘विकसित मुलुकमा श्रमिकको माग कम भएकै कारण विदेश जानेको संख्या पनि कम छ’, पाण्डेले भने ।
मन्त्रालयको तथ्यांकअनुसार मलेसियापछि दोस्रो नम्बरमा कतार छ । कतारमा यो वर्षमात्र ८१ हजार ३६४ जना गएका छन् ।
आव २०७०/७१ मा मलेसिया जानेको संख्या दुई लाख १४ हजार १४९ थिए भने आव २०७२/७३ मा ६० हजार ९७९ मात्र थिए । अघिल्लो वर्षको तुलनामा भने यो वर्ष मलेसिया जानेको संख्या बढी हो ।
त्यस्तै २०७०/७१ मा कतार जानेको संख्या एक लाख २८ हजार ८७४ थियो भने आव २०७२/७३ मा एक लाख २९ हजार ३८ पुगेका थिए ।