प्रदेशको बजेटले विकासको पूर्वाधार खडा गर्नेः मुख्यमन्त्री राई

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास र समृद्धि ल्याउने कार्यमा ट्रष्ट तथा प्रतिष्ठानले दिनदुःखीको सेवा गरी अगाडि बढ्नुपर्ने बताएका छन् ।

हरिसिंह–उषादेवी दुगड च्यारेटेवल ट्रष्टको वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित पत्रकारिता पुरस्कार, छात्रवृत्ति प्रदान तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले ट्रष्टले शिक्षा, स्वास्थ्य, पत्रकारिता र सामाजिक कार्यमा गरेको सेवा समाजका लागि अनुकरणीय रहेको छ भने ।

मुख्यमन्त्री राईले जनताको लामो त्याग र वलिदानवाट आफ्नै हातले निर्माण गरेको संविधानबाट मुलुकमा शान्ति, सुशासन कायम भई मुलुक आर्थिक समृद्धितर्फ उन्मुख भइरहेको बताए ।

उनले प्रदेश सरकारले यही जेठ २७ गते नीति तथा कार्यक्रम र असार १ गते ल्याउने बजेटबाट यस क्षेत्रको उद्योगीकरण, रोजगारी, विकासका पूर्वाधार खडा भै उत्कृष्ट प्रदेश निर्माणको जग बस्ने बताए ।

सांसद तथा ट्रष्टका अध्यक्ष मोती दुगडले आफ्नो पिताको नाममा स्थापित ट्रष्टले आगामी दिनमा अझ फराकिलो स्तरमा समाजसेवा गर्ने बताए ।

कार्यक्र्रममा मारवाडी सेवा समितिका सुरेश शर्मा, डा. मिनाक्षी नेपाल, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष बन्दु पोखरेल लगायतले टष्ट्रले गरेको कार्यक्रमबारे चर्चा गरेका थिए ।

सो अवसरमा मुख्यमन्त्री राईले पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका विनोद भण्डारीलाई ३१ हजार १११, महिला पत्रिकारिता पुरस्कारबाट बी एफएमकी उमा थापा पोखरेललाई ११ हजार १११, सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरे ।

यसैगरी मुख्यमन्त्री राईले दुई जना छात्रवृत्ति पुरस्कार सात÷सात हजार राहुल राजवंशी र कृष्ण मुडयारीलाई प्रदान गरे भने औषधि उपचार खर्च ११ हजार मनोज भगतलाई प्रदान गरे ।