इलाममा चुनावी प्रतिष्पर्धा रोचक बन्दै

पाथिभरा संवाददाता
इलाम– आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पूर्वप्रधानमन्त्री, पूर्वसभामुख तथा पूर्वराज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् ।
पूर्वप्रम तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्बाङ र पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री तथा सांसद केशव थापा इलामबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

वाम गठबन्धनबाट खनाल इलाम क्षेत्र नं १ बाट र नेम्बाङ क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा छन् । नेपाली काँग्रेसका पूर्वसभापति समेत रहेका थापा इलाम क्षेत्र नं २ मा चुनाव लड्दै छन् ।

यसअघिको निर्वाचनमा तीन क्षेत्र रहेको इलाममा क्षेत्र नं १ बाट खनाल, क्षेत्र नं २ बाट सुवास नेम्बाङ र क्षेत्र नं ३ बाट केशव थापा विजयी भएका थिए । त्यसअघि थापा क्षेत्र नं २ मा नेम्बाङसँग पराजित भएका थिए । क्षेत्र नं १ बाट खनाल लगातार पाँचपटक सांसद भई प्रधानमन्त्रीसमेत बनिसकेका छन् ।

खनालसँग यसपटक नेपाली काँग्रेसबाट पूर्वसभापति भूपेन्द्र कट्टेल मैदानमा छन् । कट्टेल पहिलोपटक प्रतिनिधि सभामा सदस्य हुनको लागि निर्वाचनमा होमिएका हुन् । खनालसँगै प्रतिष्पर्धा गर्न २७ वर्षीय युवा सचेन घलेले विवेकशील पार्टीबाट मनोनयन दर्ता गराएका छन् । घले दुई वर्षदेखि विवेकशील पार्टीमा सक्रिय छन् ।
इलाम क्षेत्र नं २ बाट प्रतिनिधि सभातर्फ वाम गठबन्धनबाट पूर्वसभामुख तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ प्रतिष्पर्धामा छन् । नेम्बाङसँग प्रतिष्पर्धा गर्न नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वराज्यमन्त्री केशव थापा हुन् । पहिले निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचन लड्नुभएका थापा यसअघिको निर्वाचनमा नेम्बाङसँग पराजित भएका थिए ।

प्रदेश सभातर्फ क्षेत्र नं १ को (क) मा गठबन्धनबाट एमालेकी खिनु लङ्वा लिम्बू र काँग्रेसबाट हालै संघीय समाजवादी फोरम नेपाल परित्याग गरी काँग्रेसमा प्रवेश गरेका देवेन्द्र राईले प्रतिष्पर्धा गर्दै छन् । क्षेत्र १ को (ख) मा गठबन्धनबाट एमालेका काजीमान कागते र काँग्रेसबाट दुर्गा बराल चुनाव लड्दै हुन् ।
प्रदेशतर्फ नै क्षेत्र नं २ को (क) मा गठबन्धनबाट एमालेका रामबहादुर रानासँग काँग्रेस कोषाध्यक्ष डम्बर खड्काले प्रतिष्पर्धा गर्दै छन् । क्षेत्र २ को (ख) मा भने गठबन्धनबाट माओवादीका धीरेन शर्मा र काँग्रेसका सचिव खगेन्द्र देवानबीच प्रतिस्पर्धा हुँदैछ ।