वीरगञ्ज– सङ्घीय सरकारले धान खरीदको न्यूनतम समर्थन मूल्य तोकेपछि पर्सा जिल्लाका धान उत्पादन गर्ने अधिकांश किसान नेपाल खाद्य संस्थानमा धान नबेचेर निजी क्षेत्रका गल्ला व्यापारीलाई महङ्गोमा धान बेच्ने गरेका छन्.।
सङ्घीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्य अनुसार संस्थानले सोना मन्सुली धानप्रति क्विन्टल रु दुई हजार ४६० मा खरीद गर्दै आइरहेको छ । निजी क्षेत्रका गल्ला व्यापारी तथा चामल मिलले त्यही धान प्रति क्विन्टल दुई हजार ७०० सम्ममा किन्ने गरेकोले निजी क्षेत्रलाई धान बेच्ने गरेको वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका किसान शेषमन पण्डितको भनाइ छ ।
नेपाल खाद्य संस्थानभन्दा स्थानीय व्यापारीले प्रति क्विन्टल रु २०० देखि रु ३०० बढीमा धान खरीद गर्ने भएकोले निजी क्षेत्रलाई धान बेच्ने गरेको अर्का किसान विजय पण्डितको भनाइ छ । अघिल्लो वर्ष संस्थानले सोना मन्सुली धानप्रति क्विन्टल रु दुई हजार ५२५ तथा जिरा मसिनो धान प्रति क्विन्टल तीन हजार २०० का दरले खरीद गरेको थियो । तर यसवर्ष सङ्घीय सरकारले धान खरीदको समर्थन मूल्य कम राखेकाले किसान निजी क्षेत्रका व्यापारीलाई धान बेच्ने गरेको नेपाल खाध संस्थान शाखा कार्यालय वीरगञ्जका प्रमुख अम्बिका घिमिरेले राससलाई बताए ।
संस्थानले चालू आर्थिक वर्ष २०७५÷७६ मा १५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिएकोमा हालसम्म ५३ क्विन्टल मात्र धान खरीद गर्न सकेको छ । संस्थानले अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा रु आठ करोड २५ लाख मूल्य बराबरको तीन हजार मेट्रिक टन सोना मन्सुली र जिरा मसिनो धान खरीद गरेको थियो ।
अमेरिकी सरकारले एक हजार मेट्रिक टन क्षमताको एउटा गोदाम बनाएपछि संस्थानसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच वटा गोदाम रहेको छ । संस्थानसँग अहिले अघिल्लो वर्षको सोना, जिरा र जापानी चामल गरी १२ हजार ८०० क्विन्टल चामल मौज्दात अवस्थामा रहेको छ ।
संस्थानले धान खरीद गरी उत्पादन गर्ने चामल आवश्यकता अनुसार गोरखा, काठमाडौँ, पोखरा, धनगढी, नेपालञ्ज, सुर्खेत, भैरहवा डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटमा रहेको कारागारमा पठाउने गरेको छ ।
संस्थानले गत वर्ष आएको बाढीबाट प्रभावितका लागि राहतस्वरूप विराटनगरमा दुई हजार १०० क्वीन्टल चामल पठाएको थियो । त्यसैगरी संस्थानले गतवर्ष जिल्ला कारागार वीरगञ्जलाई ३६८ मेट्रिक टन, भीमफेदी कारगारलाई २०९ मेट्रिक टन तथा गौर कारगारलाई ४५ मेट्रिक टन मन्सुली चामल पठएको शाखा प्रमुख घिमिरेले बताए ।
प्रमुख घिमिरेले निजी क्षेत्रको व्यापारीसँग प्रतिस्पर्धा गर्न नसके पनि सङ्घीय सरकारले १५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य भने पूरा हुने विश्वास व्यक्त गरे । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा संस्थानले पर्सा बाराका केही किसानबाट धान खरीद गर्ने गरेको छ । पर्सा जिल्लामा यसवर्ष किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरी दुई लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन गरेका छन् ।