नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि सम्झौता, निर्माण कार्य ४२ महिनामा सकिने

नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि सम्झौता भएको छ। काठमाडौंको नागढुङ्गादेखि धादिङको सिस्नेखाला निस्कने उक्त सुरुङमार्ग निर्माणका लागि जापानी कम्पनी हाज्मा अन्डो जेभीसँग सोमबार ठेक्का सम्झौता भएको हो।

सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलका अनुसार सम्झौतापत्रमा सडक विभागअन्तर्गतको वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापा र हाज्माका प्रबन्धकले हस्ताक्षर गरेका छन्।

हाज्मासँग साढे १३ अर्ब रुपैयाँको ठेक्का सम्भौता भएको हो। सम्झौता अनुसार कम्पनीले काम सुरु गरेको ४२ महिनाभित्र काम सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ।

आयोजना प्रमुख खरेलले सुरुङमार्ग निर्माण कार्य आगामी नोभेम्बर अन्तिम साता (मङ्सिर)देखि सुरु गर्ने जानकारी दिए। यो सुरुङमार्ग मुलुककै पहिलो सुरुङमार्ग हुनेछ।

सुरुङमार्गको लम्बाई २.६८ किलोमिटर हुनेछ। त्यस्तै, यस सुरुङमार्गको चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ। आयोजनाका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १६ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराउनेछ। जाइकासँग यससम्बन्धी सम्झौता यसअघि नै भइसकेको छ।