अख्तियारमा दुई महिनामा २३ सय उजुरी

नयाँ आर्थिक वर्ष ०७६–०७७ को दुई महिनाको अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा २३ सय ८१ उजुरी परेका छन् । आयोगका अनुसार असोज पहिलो सातासम्ममा उक्त संख्यामा उजुरी परेको हो ।

आयोगमा साउनमा ११ सय ९८ , भदौमा १ हजार ९५ र असोज पहिलो सातासम्म जम्मा ८८ उजुरी दर्ता भएका छन् । तीमध्ये अधिकांश केन्द्रीय कार्यालय टंगालमा परेका हुन् । सरकारी कामकाजमा भएका अनियमितता र ढिलासुस्तीका विषयमा उजुरी पर्ने गरेका छन् ।

पछिल्ला दिन मुलुक संघीयतामा गएसँग उजुरी पर्ने क्रम झनै बढेको छ । भौतिक निर्माण, शिक्षा, स्वास्थ्य, स्थानीय प्रशासनअन्तर्गतका कार्यालयसँग जोडिएका उजुरी बढी पर्ने गरेको अख्तियारले स्पष्ट पारेको छ । उजुरीका ३० प्रतिशत निवेदन छानबिनपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्ने गरेको तथ्यांक छ ।