बगरमा लहराउँदै तरकारी

भद्रपुर– झापाका अधिकांश खोलाका बगरहरूमा यतिबेला बेमौसमी तरकारी खेतीले हरियाली छाएको छ । खोलाका निक्खर र सुक्खा बालुवामय बगरमा लहराएको करेला, काँक्रा, खरबुजा, लौका र फर्सीका लहराले बगरलाई हरियाली बनाएको हो ।

शिवसताक्षी नगरपालिका–१ स्थित माइखोलाको १९५ बिघा बगरको जमीन भाडामा लिएर किसानले बगरे बेमौसमी तरकारी खेती शुरु गरेका छन् । दजनौँ किसानले तरकारी खेतीको पकेट क्षेत्र नै घोषणा गरेर शुरु गरेको बगरमा यतिबेला, काँक्रा, घिरौँला, फर्सी, लौका र करेला लटरम्मै फल्न थालेको खेतीका प्राविधिक जनार्दन मण्डलले जानकारी दिए ।

असी किसान मिलेर प्रतिबिघा १२ हजारका दरले भाडामा लिएको बगरे जमीनमा फलेको तरकारी खरीदका लागि ट्रक नै लिएर हेटौँडा, लहान, काठमाडौँदेखि व्यापारी आउन शुरु गरेको प्राविधिक मण्डलले बताए । उनीहरूले खेती गर्दै आएको बगर स्थानीय किसानको नम्बरी जग्गा हो । विगतमा माईखोलामा आएको बाढीले खेतीयोग्य जमीन बगाएर बगरमा परिणत गरेको थियो । सोही जमीन जग्गाधनीसँग भाडामा लिएर किसानले विगत पाँच वर्षदेखि बगरे तरकारी खेती शुरु गरेका हुन् ।

छोटो समयमा विभिन्न तरकारीका जातहरू लगाएर उत्पादन गर्न सकिने भएकाले किसान सो खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र भद्रपुरका कृषि प्राविधिक शालिकराम भट्टराईले बताए । उनका अनुसार झापाको मेची, कनकाई, बिरिङको तल्लो भाग, गौरीगञ्जको चिस्यानलगायतका खोलाको बगरमा तरकारी तथा फलफूल खेती लगाइएको छ ।

हिउँदको सुक्खायाममा नदीबाट मोटर चलाएर सिँचाइ गर्न सकिने सहज व्यवस्था, बाढीले बगाएर ल्याएको मलिलो बलौटेमाटो भएकाले खरबुजा, लौका, करेला, काँक्रा, खुर्सानी, भाण्टा, गोलभेँडालगायतका विभिन्न किसिमका फलफूल तथा तरकारी बगरमा मनग्य उत्पादन हुने गरेको प्राविधिक भट्टराईको भनाइ छ ।

उनले बगरखेती कार्यक्रमअन्तर्गत जिल्लाका कृषक समूह, कृषि सहकारी, कृषिफार्मसहित २० वटा छनोट गरी चालू आर्थिक वर्षमा ज्ञान केन्द्रले रु २८ लाख ५० हजार रकम किसानलाई अनुदान दिएको बताए । उनले भने, “खेर गइरहेको नदी किनारामा सानो लगानी गरेर उत्पादन लिन सकिने सम्भावनालाई देखेर बगरे खेती विकास तथा प्रवद्र्धनको अवधारणाअनुसार कार्यक्रम शुरु गरिएको हो ।” झापाका विभिन्न खोलाकिनारको ५०० बिघाभन्दा बढी जमीनमा बगर खेती भइरहेको कृषि ज्ञान केन्द्रको कार्यालय भद्रपुरले जनाएको छ ।

बगरमा बेमौसमी तरकारी र खरबुजाको खेतीबाट बालबच्चाको पढाइलेखाइ र घरखर्च चलाउन सजिलो भइरहेको कनकाई नगरपालिका–५ का किसान तपन मण्डलले बताए । उनले मङ्सिरदेखि शुरु गरिने तरकारी जेठ १५ सम्ममा बिक्री भइसक्ने बताए । उनकाअनुसार काँक्रा, फर्सी, करेलालगायतका तरकारी चैत १५ सम्ममा बिक्री गरिने र खरबुजाको बिक्रीचाहिँ वैशाखदेखि जेठ १५ सम्ममा गरिने बताए । मण्डलले दुई बिघामा खर्च कटाएर बेमौसमी तरकारी खेतीबाट रु छ देखि सात लाख आम्दानी हुँदै आएको बताए ।

किसानले हालसम्म भारतको किसानगञ्जबाट प्रतिकेजी रु २० हजारका दरले बीउबिजन खरीद गरेर तरकारी खेती गर्दै आएको बताएका छन् । उनीहरू सरकारले बगरे तरकारी खेती गर्ने किसानलाई बीउ र तालीमको व्यवस्था गरे अभैm तरकारी खेती राम्रो हुने बताउँछन् ।