वैदेशिक रोजगारको ब्यथा : ५४५ नेपाली जेलमा, २४ अचेत अवस्थामा

काठमाडौँ– रोजीरोटीका लागि विदेशीएका नेपालीमध्ये ५४५ जना विभिन्न गन्तव्य मुलुकका जेलमा बन्दी जीवन बिताउन बाध्य भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ५२६ पुरुष र १९ महिला विभिन्न देशका कारागारमा बन्दी जीवन बिताउँदै छन् । कुवेतमा ५५ पुरुष र तीन महिला, संयुक्त अरब इमिरेट्समा १७३ पुरुष र १२ महिला, मलेसियामा २०२ पुरुष र तीन महिला, ओमनमा एक पुरुष र दुई महिला, साउदी अरबको जेलमा ३१ र रियादमा २३ पुरुष, कतारमा ३५ पुरुष र बहराइनमा पाँच पुरुष कामदार कारागारमा बन्दी अवस्थामा रहेका पाइएको बोर्डले जनाएको छ ।

त्यसैगरी कामका सिलसिलामा दुर्घटनामा परी २१ पुरुष र तीन महिला गरी २४ जना अचेत अवस्था (कोमा) मा विभिन्न अस्पतालमा रहेका छन् । कुवेतमा तीन पुरुष एक महिला, संयुक्त अरब इमिरेट्स र ओमनमा एक÷एक, साउदी अरबमा पाँच, कतारमा नौ तथा बहराइनमा चारजना सम्बन्धित मुलुकको अस्पतालमा अचेत अवस्थामा रहेका बोर्डले जनाएको छ ।

विभिन्न कारणबाट जेलमा परेका नेपाली श्रमिकको उद्धारका लागि कानूनी सहायता उपलब्ध गराइएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । फौजदारी कसुरको अभियोग लागेका नेपाली कामदारलाई निजको तर्फबाट कानूनी प्रतिरक्षा तथा बहस पैरवी गर्न सरकरारले आर्थिक सहायता उपलब्ध गराउँदै आएको उनले बताए । ‘वैदेशिक रोजगारमा गएका नेपाली कामदारको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशका, २०७५’ अनुसार कामदारको उद्धारका लागि बढीमा रु १५ लाखसम्म उपलब्ध गराइने उनले बताए ।

२८ प्रतिशतले बढ्यो रेमिट्यान्स

वैदेशिक रोजगारीमा रहेका नेपाली युवाले चालू आर्थिक वर्षको सात महीनामा रु पाँच खर्ब १५ अर्ब ५५ करोड विप्रेषण नेपाल पठाएका छन् ।

विप्रेषण आप्रवाहमा २८ दशमलव पाँच प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह एक दशमलव सात प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह छ दशमलव चार प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २७.३ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ८६ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय तीन प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३९ दशमलव दुई प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या चार दशमलव नौ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा चार दशमलव नौ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या एक दशमलव छ प्रतिशतले घटेको थियो ।