जिम्बाबेमा बाढी र तुफानका कारण दुई लाख प्रभावित

जेनेभा– जिम्बाबेमा आएको पछिल्लो बाढी र तुफानका कारण दुई लाखभन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकायले बिहीबार दिएको जानकारी अनुसार प्रभावित भएकामध्ये अधिकाँश मोजाम्बिक सीमा क्षेत्रका रहेका छन् ।

प्रारम्भिक विवरणमा प्रभावितहरूको सङ्ख्या एक लाख ५० हजार भएपछि विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले प्राप्त गरेको विवरणमा प्रभावित हुनेहरूको सङ्ख्या बढेको देखिएको हो ।

डब्लूएफपीका प्रवक्ता हेर्भे भेर्हुसेलले दिएको जानकारी अनुसार जेनेभामा प्रप्त विवरणमा रातारात प्रभावितहरूको सङ्ख्या बढेको उल्लेख छ ।

मोजाम्बिकको सीमा क्षेत्रमा पर्ने चिमानीमानीमा बाढी र तुफानले “धेरै खराब” अवस्था सृजना गरेको उनले बताए । “जिल्लाको झण्डै ९० प्रतिशत प्रष्ट क्षति भएको छ, उहाँले भन्नुभयो ।”

जिम्बाबेको राज्यद्वारा सञ्चातिल प्रसारण संस्था जेडबीसीले मृत्यु हुनेहरूको सङ्ख्या सयबाट बढेर १३९ पुगेको छ ।

राष्ट्रसङ्घले बाढीबाट प्रभावित भएकामध्ये ४० हजार जना विस्थापित भएको पनि जनाएको छ ।

सरकारी अधिकारीहरूले भने प्रभावितहरूको सङ्ख्या छ लाख पुगेको दाबी गरेको पनि प्रवक्ता भेर्हुसेलले बताए ।

उनले भने, “तर प्रभावितहरूको सङ्ख्या हामीले भनेभन्दा अवश्य पनि बढिरहेको छ ।” एएफपी