गरीबको घरमा जस्ताको छानो

नारायणपुर– होमबहादुर चौधरीले जेनतेन घर बनाउनुभयो तर, जस्तापाता किनेर छाउने हैसियत थिएन । वडा कार्यालयका कर्मचारी आए, घरको नापनक्शा निकाले र आँगनमै आएर जस्तापाता सहयोग गरे । होमबहादुरलाई देवता आएजस्तो भयो ।

स्थानीय तहमा सरकारकै प्रतिनिधित्व गरेर जनप्रतिनिधि वडा कार्यालयमा आएपछि उनीहरूले सुरक्षित आवास निर्माणमा सहयोग मात्रै गरेनन्, वर्षौदेखिको जनतामा देखिएको सरकारको भोक पनि मेटाए । घोराही उपमहानगरपालिका वडा नं १६ ले खरका छाना विस्थापित गर्ने योजना बनाएपछि गरीबहरूले राहतको श्वास फेरे । अहिले वडा नं १६ मा रहेका ५० भन्दा बढी गरीब तथा विपन्न घरपरिवारले खरको छानो फालेर टिनको छानो लगाइसकेका छन् ।

घोराही १६ की निमकुमारी नेपाली अहिले टिनले छाएको घरमा बस्न पाएर दङ्ग हुनुहुन्छ । छरछिमेकमा सिमेन्टका घरहरू बन्दै गर्दा निमकुमारीलाई आफ्नो घर देखेर मुटु खान्थ्यो । सबै कुरा महङ्गो भयो । घर बनाउँला भन्दाभन्दै जीवन बित्न थाल्यो । एकझर पानी ओत्ने छानो भएको घरमा बस्ने उनको रहर कहिल्यै पूरा हुन सकेको थिएन । निमकुमारीले विगत सम्झिइन् – “गरीबको को नै छ र भन्ने लाग्थ्यो तर, अहिले सरकारले छानो छाउन पुग्ने गरी जस्तापाता दिएर गयो ।”

सानो रकम खर्च गरेर घर उभ्याउन सक्ने, पुराना घर मर्मत गर्न सक्नेले वडा कार्यालयमा पुगेर निबेदन दिए । कार्यक्रम अनुसार छाना छाउन जस्तापाता मात्रै सहयोग गर्ने भएकाले घर निर्माण अनिवार्य हुन्थ्यो । “घर बनाउन सक्नेलाई बनाउन आग्रह ग¥यौँ, नसक्नेले पुरानो घर मर्मत गर्न भन्यौँ,” घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भने – “सहयोग पाउने भएपछि स्थानीयवासी उत्साहित भए । कार्यक्रम धमाधम अगाडि बढ्दै छ ।”

घोराही उपमहानगरपालिकामा खरको छानो हटाएर जस्तापाता सहयोग गर्ने योजना शुरु गर्नुभएका वडा नं १६ का अध्यक्ष लछिनप्रसाद बुढाको निधन भयो । वडाका कार्यबाहक अध्यक्ष जगतबहादुर श्रेष्ठले यो कार्यक्रमको नेतृत्व गरिरहनुभएको छ । वडा नं १६ को कार्यालयले मात्र हैन सिङ्गो उपमहानगरपालिकाले सञ्चालन गर्ने योजना बनाइएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले समेत यो कार्यक्रम मातहत ६०० भन्दा बढी घरधुरीलाई जस्तापाता वितरण गरेको छ । सुरक्षित आवास कार्यक्रममार्फत तुलसीपुरले ५७० घरमा टिनको छानो सहयोग गरेको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । जस्तापाता वितरणका लागि तुलसीपुरले मापदण्ड बनाएको छ जसअन्र्तगत गरीब, विपन्न, असहाय घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ ।

“वडालाई खरको छानोमुक्त बनाउने हाम्रो चुनावी प्रतिवद्धता पनि थियो, त्यसकारण पनि यो कार्यक्रम महत्वपूर्ण र आवश्यक भएका कारण पहिलो वर्ष नै हामीले बजेट विनियोजन गरेका थियौँ,” घोराही–१६ का कार्यबाहक अध्यक्ष जगतबहादुर श्रेष्ठले भने – “हामीले पहिले तथ्याङ्क सङ्कलन ग¥यौँ । प्राविधिक नापजाँच पछि हामीले जस्तापाता वितरण शुरु गरेका हौँ ।” मापदण्ड अनुरुप १९ वटै वडामा खरको छानो भएका घरपरिवारलाई छनोट गरी उनीहरूलाई जस्तापाता वितरण गरिएको हो ।

पाण्डेका अनुसार तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा ६ हजार भन्दा बढी घरमा खरको छानो छ । सबै घरमा उपमहानगरपालिकाले जस्तापाता सहयोग गर्न सक्छ त ? अहिलेसम्म यो कार्यक्रमका लागि उपमहानगरपालिकाले १ करोड ११ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ । बजेट अनुसार १ हजार ६०७ बण्डल जस्तापाता खरिद गरेर वितरण गरिएको प्रवक्ता सूर्यबहादुर डाँगीले बताए । उनका अनुसार १२ लाख रुपैयाँ बराबरको जस्तापाता अझै वितरण गर्न बाँकी रहेको छ ।

सबै घरका लागि जस्तापाता सहयोग गर्नुपर्ने अवस्था नरहेको पाण्डेले बताए । बजारमा पक्की घर निर्माण गरेर गाउँको घर खरको छानोमै सीमित राखेका उदाहरणहरू समेत रहेको उनले बताए । “एकै आर्थिक वर्षमा यो कार्यक्रम सम्पन्न हुने स्थिति छैन,” पाण्डेले भने– “अहिले विभिन्न वडामा काम भैरहेको छ र आगामी दिनमा पनि यो कार्यक्रम सञ्चालन हुन्छ ।”

घोराही उपमहानगरपालिका वडा नं १६ ले १८ लाख रुपैयाँ भन्दा बढी बजेट खर्च गरिसकेको छ । सिङ्गो उपमहानगरपालिका क्षेत्रमा पनि ६÷७ हजार परिवारले विपन्नताकै कारण सुरक्षित आवास निर्माण गर्न सकेका छैनन् । यकिन तथ्याङ्क सङ्कलनका लागि प्रत्येक वडा कार्यालयमा पत्राचार गरिएको प्रमुख चौधरीले बताए । “हामी पाँच वर्ष भित्रमा सबै खरका छाना हटाएर टिनका छाना बनाउने योजनामा छौँ,” प्रमुख चौधरीले भने – “अहिले अन्य क्षेत्रमा तयारी भैरहेको छ । खरको छाना भएका घरहरू उपमहानगरपालिकामा कति छन् भनेर सर्वेक्षण थाल्न सबै वडा कार्यालयमा पत्राचार गरेका छौँ ।”

खडेरीको समयमा आगलागीको सबैभन्दा बढी जोखिममा पर्ने खरका छाना भएका घरहरू जस्तापाताले सुरक्षित हुने प्रविधिज्ञहरू बताउँछन् । घोराही उपमहानगरपालिकाका इन्जिनीयर रामधन श्रेष्ठले भने, “पहिलो कुरा आगलागीबाट बच्न र वर्षात्को समयमा पानी, झरी र हुरीबतासबाट पनि सुरक्षित रहन सकिन्छ । यति मात्रै हैन, खरको छानोले गरीबीको समेत सङ्केत गर्छ ।”

घोराही उपमहानगरपालिका क्षेत्रमा २.२७ प्रतिशत घर झुप्रो, छाप्रो र टहरा छन् । यी घर सबै कमजोर अवस्थामा रहेका छन् तर, केही झुप्रो, छाप्रो र टहरामा टिनको छानो रहेको छ । उपमहानगरपालिकाका अनुसार ५० प्रतिशत घर कच्ची, १८.४० प्रतिशत घर अर्धपक्की र २९.२० प्रतिशत घर पक्की छन् । अधिकांश घर कच्ची रहनु आर्थिक विपन्नताको सूचक रहेकाले सुरक्षित आवासका लागि दीर्घकालीन योजना निर्माण गर्न आवश्यक देखिन्छ ।