जलस्रोतको अधिकतम उपयोग, कृषिमा व्यवसायीकरण, पर्यटन प्रवद्र्धन नै प्रदेश १ को समृद्धिका आधारहरु हुन्

भोजपुर जिल्लाको राम प्रसाद राई गाउँपालिका वडा नं.४ (साविक दलगाउँ गाविस. वडा नं.५)मा माता तीर्था माया राई पिता गङ्गा बहादुर राईको जेष्ठ सन्तानका रुपमा २०४४ फागुन ११ गते जन्मनुभएका केवल राई नेपालको इतिहासमै दुई ठूला कम्युनिष्ट पार्टीहरु तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रकोबीच एकतापश्चात पनि सत्तासीन नेकपा प्रदेश नम्बर १ को सवैभन्दा कान्छो सदस्य जुझारु, क्षमतावान, मिलनसार, तथा भावी राजनीतिमा सम्भावना बोकेका प्रदेश कमिटी सदस्यको रुपमा जीम्मेवारी सम्हाल्दै हुनुहुन्छ । प्रस्तुत छ उनै राईसँग प्रदेशमा पार्टीको गतिविधि, भूमिका, योजना र पछिल्लो सरकारका विभिन्न गतिविधिलगायतका समसामयिक विषहरुमा गरिएको कुराकानीको सम्पादित अंश :

केवल जी सन्चै हुनुहुन्छ ?

हजुर अहिलेसम्म ठीक छु ।

कहिले आउनुभयो काठमाडौं ?

आज चार दिन भयो ।

केही विशेष काम वा योजना ?

त्यस्तो चर्चा गर्न लायक योजना त केही होइन । साधारण भेटघाट हो ।

ठीक छ । तपाईँ त तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको (नेकपा)को १ नम्बर प्रदेश कमिटीको सवैभन्दा कान्छो सदस्य पनि हुनुहुन्छ, तपाइँलाई पार्टीले दिएको जिम्मेवारीलाई कसरी लिनुहुन्छ ?

कान्छो सदस्य नै त नभनि हालौँ कि किनकी सवै सदस्य कमरेडहरुको उमेर खुलिसकेको छैन । अब रह्यो पार्टीले दिएको जिम्मेवारीको सन्दर्भमा सायद पार्टीले उचित ठानेरै प्रदेश कमिटी सदस्य बनाएको हुनुपर्छ र म आफ्नो कर्तव्यलाई दृढतापूर्वक र कुशलताका साथ निर्वाह गर्ने प्रयत्न गर्छु ।

अब पार्टीले घोषणा गरेअनुसार छिट्टै नै एकताको महाधिवेशन हुँदैछ । त्यसपछि पनि तपाईँको यहि जिम्मेवारी र भूमिका होला त ? र, हुन्छ भने के कस्ता आधारहरु छन् बताईदिनुस् न ।

हाम्रो आशा र अपेक्षा भनेको यो एकताको अधिवेशन घोषणा भएअनुसार चाँडै नै होस् तथापि भनेअनुसार चाँडै नै हुने सम्भावना कम छ । अब जहाँसम्म महाधिवेशन पछाडी मेरो सजम्मेवारीको आशंका जुन छ त्यो वास्तवमा काम र आवश्यकताले निर्धारण गर्ने विषय हो । यद्यपी मलाई लाग्छ पार्टीले दिएको जुनसुकै जिम्मेवारीलाई म सकेसम्म सफलतापूर्वक पुरा गर्ने प्रयत्न गर्छु । जहाँसम्म मेरो विवेकले भ्याउँछ यदि मेरो विवेक र क्षमतााले पुगेन भने पनि जानकार कमरेडहरुसँग म ज्ञान लिने र मभन्दा माथिल्लो कमिटी एवं र मेरो नेतृत्ववर्गसँग नीति निर्देशन एवं राय सल्लाह लिँदै अगाडी बढ्छु । जहाँसम्म आधारहरु तपाईँले खोज्नुभएको छ त्यो विषयको जवाफ त म सँग ठ्याक्कै छैन तथापि मेरो आजको उमेरको कालखण्डसम्म आईपुग्दा सम्म मलाई पार्टीले तोकेर दिएको. जिम्मेवारीहरु मैले सफलतापूर्वक नै सम्पन्न गर्दै आईरहेको छु र निरन्तर १६ वर्षको उमेरबाट नै म राजनीतिमा हर हिसावले सक्रिय छु । त्यो भन्दा अझ यसो भनौँ पार्टी एकता पछाडी भर्खरै मात्र प्रदेश कमिटीहरुको सदस्य भइएको छ आगामी दिनमा मलाई पार्टीले दिने जिम्मेवारी र मेरो कामको विषय निर्धारण गर्छ । म विश्वस्त छु मलाई पार्टीले न्यायोचित जिम्मेवारी दिनेछ र म त्यसलाई पार्टीको नीति निर्देशनभित्र रहेर कुशलतापुर्वक निभाउने छु् । सवैभन्दा बलियो आधार त्यहि नै बन्छ होला ।

तपाईँहरुकै पार्टीको भारी बहुमतको केन्द्रीय सरकार छ भने प्रादेशिक सरकारहरु पनि ६ वटामा तपाईँहरुकै पकड छ । पार्टी यति बलियो भएको ऐतिहासिक अवसरमा दुवै तहका सरकारका उल्लेख्य राष्ट्रलाई समृद्ध बनाउने १०/१० वटा कार्य प्रगति र योजना बताईदिनुस् त ?

हो, यो नेपालको परिवेशमा कम्युनिष्ट पार्टीको आजसम्मकै सवैभन्दा स्वर्णीम समय हो र सरकारको कार्ययोजनाहरु त मैले बताइरहनु नपर्ला । संघीय सरकार र प्रादेशिक सरकारले आ–आफ्नो तर्फबाट वार्षिक नीति तथा कार्यक्रमहरु सार्वजनिक गरी बजेटसमेत ल्याईसकोको छ । यद्यपी मैले भन्नुपर्दा दुवै सरकारले आफ्नो नीति, योजना र बजेटको सफल कार्यान्वयन गर्नु बढी आवश्यक छ र हामी नेता तथा कार्यकर्ताहरु र सिंगो पार्टीपंत्ति पनि यसको सफल कार्यान्यवयन गराउनको निमित्त सक्रिय भएर लाग्नु जरुरी छ । र, त्यसमाथि पनि मैले १ नम्बर प्रदेशको हकमा भन्नुृपर्दा समृद्ध प्रदेश निर्माणको निमित्त मुख्यतः कृषि, पर्यटन र जलस्रोत लाई उपयोग गर्ने दिशामा सरकार बढी क्रियाशील र सचेत हुनु पर्दछ । यसको सहि उपयोग नै समृद्ध प्रदेश निर्माणको आधारभूत मुहानहरु हुन् ।

प्रदेश १ को सरकार सञ्चालनमा दूरगामी सकारात्मक प्रभाव राख्ने नीतिगत निर्णयहरुको सवालमा तपाईँहरु (सिंगो प्रदेश कमिटी)को रचनात्मक सहयोग वा भूमिका प्रभावकारी रुपमा पाईएन भन्ने आरोप पनि छ । साँच्चै तपाइँहरुले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकै हो त ?

यो आरोपसँग म सहमत छैन किनकी चुनावभन्दा अगाडी जुन गठबन्धन भयो त्यो गठबन्धनले संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो । त्यही आधारमा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले साझा उम्मेद्वारहरु खडा गरी प्रतिनिधी र प्रदेश सभाको निर्वाचन लडेको थियो । हालको यो अवस्थाको परिणाम पनि त्यहि संयुक्त चुनावी घोषणापत्र नै हो । पार्टी कमिटीको जहाँसम्म रचनात्मक भूमिकाको प्रश्न र आरोप छ चुनाव पछाडिको सरकार गठन भयो तर पार्टी एकता र गठबन्धनको विषय लामो समयसम्म अन्योलपूर्ण रह्यो र बल्लतल्ल पार्टी एकताको निश्चित कामहरु सम्पन्न हुँदै छ र आगामी दिनहरुमा पनि यस्तै अवस्था रहन गयो भने चाहिँ यो आरोप हामी खेप्न तयार हुनुपर्छ आशा गरौँ त्यस्तो हुनेछैन ।

यसो हो भने अहिलेसम्म प्रदेशको नामाकरण सम्म त टुंगो लाग्नुपर्ने हो नि ? बल्लतल्ल राजधानीको विषय त टुंग्यो त्यसमा पनि ठूलो असन्तुष्टी कायमै छ भनिन्छ । प्रदेश सरकार चाहिँ समान्य उद्घाटन र घुमफिरमै रमाईरहेको छ भन्ने वहुसंख्यकको आवाज सुनिन्छ के हो वास्तविकता ?

त्यो त ठीकै हो तर, प्रदेश सरकारले त्यतिमात्रै कामहरु गर्नुपर्ने थिएन । अझ त्यस्ता प्रदेशसँग सम्बन्धित धेरै कामहरु गर्नुपर्ने थियो र त्यो गरेको छ जुन राजधानी र नामाकरणको सवाल बढी सतहमा आयो त्यो अलि बढी पेचिलो र संवेदनशील विषय पनि हो । हुनसक्छ कुनै–कुनै यस्ता विषयहरु हुन्छन् त्यसको निर्णय लिनुपर्दा सत–प्रतिशतलाई सन्तुष्ट बनाउन सकिँदैन नि । अब सायद चाँडै नै पार्टी कमिटीसँग छलफल गरी प्रदेश सरकारले नाम पनि टुंग्याउँछ । अर्को प्रसंग घुमफीर र उद्घाटनको सवाल जो छ हामीले अतिरञ्जित तरिकाले प्रचार गरेका छौँ । अब हामी नै चाहान्छौँ हामीले एउटा महायज्ञ ग¥यौँ भने पनि त्यहाँ मुख्यमन्त्री वा मन्त्रीहरु आएर उद्घाटन गरिदिउन् अनि उद्घाटन गर्न बोलाउने पनि हामी नै, विरोध गर्ने पनि हामी नै ? हामी चाहन्छौँ यस्ता कु्राहरुमा उहाँहरुलाई त्यस्तो व्यस्त गराई विरोध नगरौँ । काम गर्न दिऔँ । जब घुमफीरको कुरा छ वैयक्तिक स्वतन्त्रतासँग जोडिएको विषय पनि हो । त्यो उपभोग गर्न पाउने नैसर्गीग अधिकार मुख्यमन्त्री, मन्त्री सवैमा रहन्छ भने कतिपय अवस्थामा राज्यको प्रतिनीधि पात्रको हैसियतमा पनि उहाँहरुको भ्रमण हुने गर्छ । हामीले अर्थपूर्ण रुपमा बुझ्न जरुरी छ ।

तपाईँको दृष्टिकोणमा प्रदेश १ को समृद्धिको आधारहरु के–के हुन् र तिनको वस्तुगत एवं वैज्ञानिक सञ्चालनका पद्धति के हुन् ?

मैले अघि पनि भनिसके । मूख्यतः जलस्रोतको अधिकतम उपयोग, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन र पर्यटकीय गन्तव्यहरुको खाजी र उद्योगधन्दाहरुको सञ्चालन नै प्रदेश नम्बर १ को समृद्धिका मुख्य आधारहरु हुन् । वस्तुगत आधारहरु भनेको अरुण, दूधकोशी, तमोरजस्ता ठूला नदीहरु र मझौला तथा साना असंख्य खोलानालाहरु लिन सकिन्छ भने सगरमाथा, कञ्चन्जंघा, मकालुजस्ता विश्वचर्चित हिमपर्वतहरु त्यस्ता कयौँ धेरै पर्यटकीय आकर्षक गन्तव्यहरु छन् र हामीसँग भएको उर्वर भूमीहरु तथा कयौँ सञ्चालनमा ल्याउन सकिने उद्योग र खानीहरुसमेत हाम्रो मजबुद आधारहरु हुन् भने यसको सहि सदुपयोग गर्नु नै वैज्ञानिक सञ्चालनका पद्धतिहरु हुन् भन्ने मलाई लाग्छ ।

दुई ठूला कम्युनिष्ट पार्टीहरु एकीकरण भई बनेको प्रदेश कमिटीमा मत भिन्नता पनि प्रशस्तै छ भन्ने सुनिन्छ त ?

नीति/सिद्धान्त एउटै हुँदाहुँदै पनि फरक कार्यशैलीबाट दुई पार्टीहरु विगतमा अगाडी बढेको कारण केही असहजताहरु त स्वभाविक हुनै नै भयो तथापी त्यस्तो पचाउन नसकिने खालको मत भिन्नताहरु भने चाहिँ छन् जस्तो मलाई लाग्दैन ।

पार्टीको आगामी कार्यदिशा जनताको बहुदलीय जनवाद हो की जनताको जनवाद भन्ने विषयमा अझै कुरो मिलेको छैन । खास के विषय वा एजेण्डाले पार्टीको कार्यदिशामा फरक मत आएको हो र अब के हुन्छ ?

कार्यदिशाको विषयमा घनिभूत छलफल हुनु कुनै अनौठो विषय मान्नु पर्दैन । जुन फरक मत भन्ने कुरा छ , त्यस्तो आधिकारीक रुपमा कुनै कमिटीहरुमा प्रस्तुत भएको छ जस्तो मलाई लाग्दैन । व्यक्तिगत धारणाहरु फरक–फरक हुन सक्छन्, पार्टीले सहमतिको आधारमा दस्तावेजमा जुन कुरा उल्लेख गरिएको छ त्यो नै आधिकारिक कार्यदिशा हो ।

त्यसो भए दस्तावेजमा के छ त ?

मैले पनि दस्तावेज नै पढ्ने अवसर त प्राप्त गरेको छैन । तर, जहाँसम्म मलाई जानकारी भएअनुसार जनताको जनवाद नै हो ।

अन्त्यमा केही भन्नु छ की ?

यो समय, संवाद र अवसरको लागि तपाईँ लगायत तपाईँको यो सञ्चारमाध्यमप्रति आभारी छु । फेरि पनि यस्तो अवसरको अपेक्षा गर्दछु ।

धन्यवाद ।