आजबाट सुविधायुक्त विद्युतीय बस सञ्चालनमा, २० प्रतिशत छुट

काठमाडौं । मंगलबारबाट काठमाडौंमा लामा आकारका सुविधायुक्त विद्युतीय बस सञ्चालनमा आएको छ । यी बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्ला २० प्रतिशत छुट पाइनेछ ।

‘बिजुली बस’ पनि भनिने विद्युतीय बस सेवाको उदघाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नुभयो । सुन्दर यातायात प्रालिले चिनियाँ कम्पनी बिएकेले उत्पादन गरेका बीएके ब्राण्डका ४० सिट क्षमताका बस चलाउन लागिएको हो ।

सुन्दर यातायातका बसहरु चक्रपथ परिक्रमा, नारायणथान–मेडिसिटी अस्पताल, गोंगबु–सल्लाघारी र ढुंगेअड्डा–जोरपाटी गरी चार ओटा रुटमा चल्नेछन । बाँकी तीन बस अन्य रुटमा चल्ने र रुट पर्मिटको काम भइरहेको कम्पनीका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिनुभयो ।

सरकारले विद्युतीय सवारीका लागि छुट्टै भाडा दर नतोकेकाले कम्पनीले यात्रा कार्डमार्फत यात्रा गर्दा एउटा यात्रमा २० प्रतिशत छुट हुने गरी लाभ दिने बताएको छ ।

कम्पनीले ७ ओटा बस सञ्चालन गर्ने तयारी गरेपनि हाललाई ४ बस मात्रै चल्नेछन । कम्पनीले २१५ रुपैयाँ मुल्यको यात्रा कार्डको विक्री पनि सुरु गर्दैछ ।