जापानमा नेपाली राजदूतद्वारा नै ऊर्जामन्त्री पुनको अपमान

जापान सरकारको औपचारिक निमन्त्रणामा जापान भ्रमणमा आएका उर्जामन्त्री वर्षमान पुन आफ्नै देशको राजदुतबाट अपमानित हुनुपरेको छ। चारदिने भ्रमणका लागि जापान आएका ऊर्जामन्त्री वर्षमान पुनको स्वागतमा नेपाली दुतावासले दिएको रात्रिभोजमा मन्त्री पुन सहभागी नभएपछि राजदूत र मन्त्रीबीचको असमझदारी छताछुल्ल भएको हो।

जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले मन्त्री पुन जापान आउने कुनै औपचारिक जानकारी नभएको भन्दै विमानस्थलमा लिन र शिष्टचार भेटघाटसमेत नगरेको मन्त्रीको सचिवालयले जनाएको छ।

रात्रिभोजकै समयमा मन्त्री पुनको जापानी टोलीसँगको भेटघाट भएकोले उपस्थित नभएको मन्त्रीको सचिवालय टोलीले जनाए पनि रात्रिभोजमा सहभागी नहुनुलाई राजदूत र दूतावासले अपमान गरेको बुझिएको छ।

जापान भ्रमणको क्रममा मन्त्री पुनले जापानका संसदीय, विदेश उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका इतोसँग नेपालमा जापानको सम्बन्ध र सहयोगका विषयमा छलफल गरेका थिए। मन्त्री पुनले नेपाल–जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसहितको ८ सदस्यीय संसदीय टोलीसँग पनि भेटवार्ता गरेका थिए।

मन्त्री पुनले दुई देशको मैत्रीपूर्ण सम्बन्ध जापानले नेपाललाई ऊर्जा, सिँचाइ, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा गर्दै आएको सहयोगका लागि धन्यवाद दिदैं यसलाई अझ प्रभावकारी बनाउन अपिल गरेको मन्त्रीका सचिवालय टिमका सुनिता गौतमले जानकारी दिईन्।

त्यस्तै मन्त्री पुनले भने ४ सय १७ मेगावाट नलसिंहगाड जलविद्युत, ऊर्जा, कृषि र पर्यटन नेपालमा सहयोगका लागि जापानी सहयोग र लगानी बढाउन आग्रह गरेका थिए। कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका इतोसँगको भेटमा मन्त्री ताकु इतोले नेपालको सिँचाइ र कृषिको क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग बढाउन तयार रहेको बताएका थिए।

भेटका क्रममा मन्त्री पुनले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन जापानी पर्यटकलाई भित्र्याउन पहल गरिदिन आग्रह गर्दै अब छिट्टै काठमाडौं–टोकियो उडानसमेत थाल्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका थिए। जापानी उच्च अधिकारीहरूसँगको भेटमा मन्त्री पुनसँग जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी थिए।

मन्त्रीमाथि अपमान भएको छैनस् दूतावास
ऊर्जा मन्त्रिमाथी बाहिर हल्ला चलेजस्तो कुनै पनि प्रकारको अपमान नभएको दूतावास स्रोतले नागरिक न्युजलाई जानकारी दिएको छ। औपचारिक रूपमा मन्त्रीको भ्रमणका बारेमा सम्बन्धित निकायबाट खबर नआएकोले केही असहज वातावरण सृजना भएपनि ऊर्जामन्त्रीको भ्रमण सफल बनेको छ,स्रोतले नागरिक न्यूजसँग भन्यो ऊर्जामन्त्रीको यो भ्रमणले नेपालको ऊर्जा क्षेत्रको विकासमा जापान सरकारले थप सहयोग गर्ने निश्चित छ।