पेस्तोलसहित पक्राउ परेका नेता छुटाउन तरुण दलले नेपालगन्ज बन्दको आह्वान

पेस्तोलसहित पक्राउ परेका आफ्ना नेता छुटाउन नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले नेपालगन्ज बन्दको आह्वान गरेको छ। बन्दका कारण उद्योग, शिक्षण संस्था, यातायात प्रभावित भएको छ ।

तरुण दल नेपालगन्जका सभापति सन्दीपजंग शाहसहित पक्राउ परेका नेता कार्यकर्ता छुटाउनका लागि बन्दको आयोजना गरिएको तरुण दलले जनाएको छ ।

कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जबाट पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको थियो ।

तरुण दलले उनीहरूलाई प्रहरीले फसाउन आफैं पेस्तोल गाडीमा राखेर समातेको आरोप लगाएको छ ।

प्रहरीले एक रिसोर्टमा पार्किङ गरिएको निजी कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोलसहित शाहसहितलाई पक्राउ गरेको थियो ।

उक्त पेस्तोल शाहकै गाडीबाट बरामद भएको प्रहरीले बताउँदै आएको छ । तर तरुण दलका एक नेतालाई धम्कीदिएको अडियो सार्वजनिक भएपछि प्रहरीको आलोचना भएको थियो ।