होटेलमा लुक्न गएका मनाङ्गे यसरी परे प्रहरीको फन्दामा, म्यादथपको लागि शुक्रवार कास्कीका सिडिओ समक्ष पेश गरिने

पोखरा । बुधबार दिउँसो करिब ४ बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ उर्फ ‘दीपक मनाङ्गे’ बिरुद्ध ‘अभद्र व्यबहार तथा कुटपिट’ कसुरमा जाहेरी दर्ता भयो । कुनै समय काठमाडौं उपत्यकामा गुण्डागर्दीको बादशाह मानिने मनाङ्गे अहिले माननीय बनेका छन् ।

उनै माननीय मनाङ्गेले गत मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक स्थलमै झापड हानेका थिए । मंगलबार लेखनाथको भण्डारी ढीकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमै सांसद गुरुङले एन्फा कास्की अध्यक्ष गुरुङमाथि तीन मुक्का प्रहार गरेका थिए । पोखरामा पहिलो पटक मुख्यमन्त्री कप आयोजना गरिएको र मनाङ्गेले सोही विषयलाई लिएर सार्वजनिक ठाउँमा गाली गलौज गर्दै मुक्का हानेकोले आफू असुरक्षित भएको भन्दै कानुनी कारबाहीको माग गर्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए ।

मनाङ्गेबाट तीन झापट खाएका उनले आफुमाथी कुटपिट तथा अभद्र व्यबहार भएको भन्दै कास्की प्रहरीमा बुधबार दिउँसो जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले ‘अभद्र व्यबहार तथा कुटपिट’ मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडी बढाइसकेको थियो ।

प्रहरीमा मुद्दाको प्रक्रिया चल्दै गर्दा मनाङ्गेले पोखरामै पत्रकार सम्मेलन गरेर गोली हानुपर्ने मान्छेलाई आफुले झापड मात्रै हानेको र आफुले एकदम सहि काम गरेको दावी गर्दै कानुनी राज्यलाई नै चुनौती दिएका थिए । प्रदेश सभाका सांसद मनाङ्गेको पछिल्लो गतिविधि र वक्तव्यबाजीले नियामक सुरक्षा निकाय नेपाल प्रहरीलाई नै चुनौती दिएको भन्दै कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले उनको गतिविधिको निगरानीको लागि बुधबारदेखि नै सादा पोशाकमा प्रहरी खटाएका थिए ।

गतबर्ष देखि कार्यान्वयनमा आएको मुलुकी फौजदारी संहिताले कुनै अभियुक्तलाई पक्राउ गर्नुपुर्व सम्बन्धित न्यायिक निकायबाट अनुमति लिनुपर्ने ब्यबस्था गरेको छ। बुधबार कार्यालय समय सकिनै लाग्दा जाहेरी आएकोले कास्की प्रहरीले सम्बन्धित निकायबाट पक्राउ अनुमति लिन पाएको थिएन । सोहिकारण जिल्ला प्रहरी कार्यालय कास्कीले बिहिवार कार्यालय खुल्नेबित्तिकै मनाङ्गेलाई पक्राउ गर्नको लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा फाइल पेश गरिसकेको थियो । ‘अभद्र व्यबहार’ सम्बन्धि मुद्दा सिडिओले हेर्ने भएकोले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिनुपर्ने हुन्छ ।

स्रोतका अनुसार प्रदेश सभाका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई पक्राउको लागि अनुमति माग्दै जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा शाखाको टोलीले बिहिवार ११ बजे नै कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रमेश केसीको टेबलमा मिसिल पेश गर्‍यो । तर प्रमुख जिल्ला अधिकारी केसीले राजनीतिक ब्याक्तित्व भन्दै प्रहरीलाई पक्राउ अनुमति दिन आलटाल गरिरहेका थिए । भने प्रहरीले पक्राउ अनुमतिको लागि सिडिओ केसीलाई आग्रह गरिरहेको थियो। चर्को राजनीतिक दबाबमा परेका सिडियो केसीले अन्ततः अपरान्ह ३:३० को समयमा बाध्य भएर मनाङ्गे पक्रन प्रहरीलाई अनुमति दिएको स्रोत बताउँछ।

उता जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ अनुमति दिएको चाल पाएपछि लुक्नको लागि मनाङ्गे पोखराको लेकसाइडस्थित नौ नम्बर स्ट्रीटको होटेल प्याराडाईज इनमा पुगेर कोठा नम्बर २०४ मा बसिरहेका के थिए जिल्ला प्रहरी कार्यालय कास्कीबाट इन्स्पेक्टर दीपक केसीको नेतृत्वमा खटिएको विशेष टोलीले उनलाई कोठाबाटै नियन्त्रणमा लियो । प्रारम्भिक अनुसन्धानमा मनाङ्गे लुक्न गएको होटेल उनका नातेदारको रहेको खुल्न आएको कास्की प्रहरी स्रोतले बतायो ।

बिहिवार देखि नै प्रहरीले पिछा गरिरहेको चाल पाउन नसकेका मनाङ्गेलाई लुक्न गएको होटेलबाटै कास्की प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएपछि होटेल मालिकले अचम्मित हुँदै प्रहरीलाई भनेका थिए ‘भर्खरै लुक्न आउनुभएको थियो तपाईंहरुले कति छिटो थाहा पाउनुभएछ ।’ होटेल प्याराडाइज इन का मालिकलाई उद्ध‌ृत गर्दै प्रहरी स्रोतले भन्यो ।

प्रहरीले नियन्त्रणमा लिएका सांसद मनाङ्गे अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनलाई थप अनुसन्धानको लागि भोलि (शुक्रवार) म्याद लिन जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश गर्ने प्रहरीको तयारी छ ।