१२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या

काठमाडौँ । असोज ७ गते बुधबार साँझ गाईबस्तुलाई घाँस हाल्न गएकी बझाङको मस्टा गाउँपालिका–२ की सम्झना विक मृत फेला परेकी थिइन् । उनको शव निर्वस्त्र अवस्थामा स्थानीय सिमदेवता मन्दिरमा भेटिएको थियो ।

उनको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढायो । सम्झना विकको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार जिल्ला अस्पताल, बझाङले प्रहरीलाई दिएको पोस्टमार्टम रिपोर्टअनुसार उनको बलात्कारपछि हत्या भएको प्रारम्भिक निष्कर्ष निकालिएको हो ।

ती अधिकारीले भने, ‘शनिबार आएको पोस्टमार्टम रिपोर्टले यौनाङ्गमा घाउ भएको देखाएको छ । उनको टाउको, अनुहार, पिठ्यूँ लगायत शरीरका विभिन्न ठाउँमा चोटपटक छ ।’ ती अधिकारीका अनुसार बलात्कारीसँग प्रतिकार गर्ने क्रममा उनको शरीरमा चोटपटक लागेको देखिन्छ ।

यसअघि चिकित्सकहरूले उनको मृत्युको कारण कलेजो च्यातिएर भएको भनी प्रारम्भिक रिपोर्ट प्रहरीलाई दिएका थिए । ती प्रहरी अधिकारीले भने, ‘अस्पतालको रिपोर्टअनुसार बालिकाको कलेजोमा पनि ठूलो घाउ देखिएको छ, उनलाई बलात्कारपछि हिर्काउँदा त्यो चोट लागेको हुनसक्छ ।

अहिले बझाङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रूपक खड्का नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । डिएसपी खड्काले भने, ‘घटनाको प्रकृति र स्थिति हेर्दा बलात्कारपछि हत्या भएको जस्तो देखिन्छ, अस्पतालको पोष्टमार्टम रिपोर्टले पनि त्यस्तै इंगित गरेको छ । अहिले हामी थप प्रमाण जुटाउने र अनुन्धान गर्ने काम गरिरहेका छौँ । यथासक्य चाँडो वास्तविकता बाहिर ल्याउँछौँ ।’

उनका अनुसार अहिले घटनास्थल र आसपासका बासिन्दासँग सोधपुछलगायत अन्य अनुसन्धानको काम सकिएको छ । अहिलेसम्म फेला परेको तथ्य र प्रमाणहरू हेर्दा उनको बलात्कारपछि हत्या भएको देखिएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ । डिएसपी खड्काका अनुसार प्रारम्भिक अनुसन्धानले राजेन्द्रको संलग्नता देखिएको छ । खड्काले भने, ‘पक्राउ परेको बोहरालाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेका छौं, अहिलेसम्मको अनुसन्धानका क्रममा भेटिएका तथ्य र प्रमाणहरू हेर्दा उसैले बलात्कारपछि हत्या गरेको देखिन्छ ।’ राजेन्द्रले प्रहरीसँगको प्रारम्भिक बयानमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

डिएसपी खड्काका अनुसार राजेन्द्र यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा मुछिएका व्यक्ति हुन् । राजेन्द्र र सम्झनाको घर जम्मा १० मिनेटको पैदल दूरीमा छ । गाईबस्तु पुर्‍याउन जाने बाटोमा कहिलेकाहीँ राजेन्द्रले सम्झनालाई पछ्याउने गरेको पनि प्रहरी अनुसन्धानले खुलासा गरेको छ ।

बेलाबेलामा राजेन्द्रले सम्झनासँग कानमा लगाएको मुन्द्री माग्ने गरेको कुरा समेत आफन्तसँग प्रहरीले गरेको कुराकानीबाट खुलेको छ । अहिले घटनामा राजेन्द्रका साथ अन्य व्यक्तिको संलग्नता थियो कि थिएन भन्ने विषयमा प्रहरी केन्द्रित भएको छ ।

प्रहरीका अनुसार राजेन्द्रलाई स्थानीय बासिन्दाले खराब व्यक्ति मान्छन् । उनका साथमा अरू एकदुई जना पनि हुन्थे । उनीहरूले गाउँमा पटकपटक चोरी गरेका थिए । उनीहरूले गाउँमा चोर्न कुनै घर बाँकी नराखेको स्थानीयबासिन्दाले बताएको प्रहरीको भनाइ छ ।