एकैदिन १ सय २० जना कोरोना संक्रमित थपिए

काठमाडौँ । देशभर आज १ सय २० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९१ जनामा गरिएको पिसिआर परीक्षणमा १ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा ८५ जना कोरोना संक्रमणबाट निको भएका छन् भने पछिल्लो २४ घन्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।

नेपालमा आजसम्म कोरोना संक्रमितको कुल संख्या दुई लाख ७६ हजार ५०९ पुगेको छ । यस्तै, दुई लाख ७२ हजार २७२ जना निको भएका छन् ।

हाल देशभर ५५ जना क्वारेन्टाइनमा छन् भने १ हजार २ सय १७ जना संक्रिय संक्रमित उपचारमा रहेको मन्त्रालयले जनाएको छ ।