२५ वर्षपछि मुख्यमन्त्रीबाट पवन चाम्लिङ बाहिरिए

काठमाडौं– सन् १९९४ यता देखि २५ वर्ष मुख्यमन्त्री भएर सिक्किम राज्य सरकार चलाइरहेका पवन चाम्लिङको पार्टी एसडीएफ अल्पमतमा परेसँगै उनको २५ वर्षे मुख्यमन्त्रीको यात्रा रोकिएको छ ।

चाम्लिङको पार्टी एसडीएफलाई दुई सिटले पछि पार्दै पीएस गोलेको सिक्किम क्रान्तिकारी मोर्चाले बहुमत ल्याएपछि चाम्लिङको यात्रा रोकिएको हो ।

बिहिबार साँझ ९ः३० बजे आएको अन्तिम मत परिणाम अनुसार सिक्किमको विधानसभाको ३२ सिटमा चाम्लिङको पार्टीले १५ सिट मात्र जितेको छ भने गोलेको पार्टीले १७ सिटमा जित हासिल गरि सरकार बनाउने बाटो खोलेको छ ।

भारतको लोकसभा चुनावसँगै सिक्किममा विधानसभा चुनाव पनि हुने गरेको छ । सिक्किममा प्रान्तीय सरकार गठन गर्न विधानसभामा बहुमत आवश्यक पर्छ ।

यसपटकको विधानसभा चुनावमा अल्पमतमा परे पनि १९९६ देखि चाम्लिङको पार्टीले सिक्किमको लोकसभा चुनाव पनि जित्दै आएको थियो ।