मुस्लिम अगुवाको नेतृत्वमा हिन्दू राष्ट्रका लागि एक करोड हस्ताक्षर अभियान सुरु

काठमाडौं । हिन्दू राष्ट्र पुर्नस्थापनाको मुख्य लक्ष्य लिएर स्थापना गरिएको ‘मातृभूमिका लागि नेपाली’ अभियानको नेतृत्व मुस्लिम अगुवाले गर्ने भएका छन् । नेपाललाई सनातन हिन्दू धर्ममा फर्काउन ‘मातृभूमिका लागि नेपाली’ अभियान ३० कार्तिकबाट शुरु हुँदैछ ।

हिन्दू राष्ट्र नेपालका लागि संसारभरी हस्ताक्षर अभियान थाल्ने लक्ष्य लिइएको छ । करिव एक करोड हस्ताक्षर गराउने यो अभियानमा सवै धर्म समुहको सहभागिता हुने भएको छ । जातिय र क्षेत्रिय भावनाको अन्त्य गरी नेपाली राष्ट्रिय भावनाको विकास गर्न अभियान थाल्न लागिएको आयोजकहरुले बताएका छन् ।

हस्ताक्षर अभियानले मुख्यतया दुई लक्ष्य लिएको छ । पहिलो हिन्दू राष्ट्र नेपाल, दोस्रो शासक र प्रशासकको सम्पति छानविन । सार्वजनिक जीवनमा रहेका शासक र प्रशासक सवैको सम्पति छानविन गरी दोषिलाई कारवाही गर्नुपर्ने माग राखिएको छ ।

यस अभियानमा हिन्दू, बौद्ध, किराँत, शिख र मुस्लिम समुदाय रहेका छन् । यो अभियानको नेतृत्व मुस्लिम समुदायका अगुवाले गर्ने भएका छन् । पोखरा र बाँकेमा मुस्लिम अगुवाले नेतृत्व गर्ने भएका छन् ।

अभियानको पहिलो हस्ताक्षर शताब्दीपुरुष सत्यमोहन जोशीबाट गराउने आयोजकको प्रयास विफल भएको छ । शताब्दीपुरुष जोशीले हस्ताक्षर गर्न नमानेपछि ३० कार्तिकमा उनीहरुले अर्को कुनै ब्यक्तिबाट पहिलो हस्ताक्षर गराउने तयारी थालेका छन् ।

संसारभर संकलन गरिएको हस्ताक्षर राष्ट्रपति बिद्यादेवी भण्डारी र संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाउने तयारी गरिएको छ ।