सिंहदरबार सुनसानः डेरा खोज्दै मन्त्रीहरु, मन्त्रालयमा श्रममन्त्री गोकर्ण विष्ट मात्रै

आज मन्त्रिमण्डल पुनर्गठन हुने भएपछि सिंहदरबार सुनसान छ । मन्त्रीहरु मन्त्रालय गएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा नजान निर्देशन दिएका थिए ।

स्रोतका अनुसार श्रममन्त्री गोकर्ण विष्ट बाहेक अरु सिंहदरबार गएका छैनन् । उनीहरु निवासमै छन् । केही मन्त्रीहरु त डेरा खोज्न थालिसकेका छन् ।

उद्योग मन्त्री मात्रिक यादब, कृषि मन्त्री चन्द्रप्रकाश खनाल र महिला मन्त्री थममाया थापा हट्ने निश्चित भइसकेको छ । ५ देखि १० जना मन्त्रीहरु आजै हट्ने र नयाँ नियुक्त हुने स्रोत बताउँछ ।

त्यसका लागि बालुवाटारमा नेकपाको बैठक बस्दै छ । प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच आज बिहान यस विषयमा छलफल भइसकेको छ । लिष्ट बनाउने काम भइरहेको स्रोत बताउँछ ।