घनश्याम बने अकासमै मन्त्री

काठमाडौं । नेकपा नेता घनश्याम भुसाल न्युज फेस्टिवलमा भाग लिन चार दिनअघि लुम्बिनी पुगेका थिए । मंगलबार राति उनी रुपन्देही जिल्लास्थित आफ्नै घरमा बास बसेका थिए ।

काठमाडौं बाहिरै रहेका बेला भुसाललाई प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले तीनरचारपटक फोन गरे । भुसालले मोबाइलको घण्टी बजेको सुनेनन् । रिमालको फोन ‘मिस्ड’ भयो ।

तारन्तार फोन गर्दा पनि नउठेपछि ‘प्रधानमन्त्रीज्यूले कुरा गर्न चाहनुभएको छ, जसरी पनि सम्पर्कमा आउनुपर्‍यो’ भन्ने सन्देससहितको म्यासेज भुसालको मोबाइलमा झर्‍यो ।

अन्ततः प्रधानमन्त्री ओली र सांसद भुसालवीच फोन सम्वादको साइत जुर्‍यो ।

पार्टी सचिवालयले गरेको दुई अध्यक्षको कार्यविभाजन निर्णयबारे तपाईको प्रतिक्रिया के छ भनेर प्रधानमन्त्री ओलीले सोधे ।

जवाफमा भुसालले सरकार र पार्टीको सञ्चालन कार्यविभाजनका आधारमा गरिनुपर्छ भन्ने आफूले पहिल्यैदेखि बताउँदै आएको हुनाले सचिवालयको निर्णय सकारात्मक नै लागेको बताए ।

प्रधानमन्त्रीले त्यतिमा मात्र चित्त बुझाएनन् । आफूले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको भन्दै प्रधानमन्त्रीले सोधे, तपाईलाई कृषि मन्त्रालयको जिम्मेवारी दिन लागेको छु, यसमा के भन्नुहुन्छ ?

नेकपाका वैचारिक नेता मानिने भुसालले कुनै खास मन्त्रालयको विषयमा कुराकानी गर्नुभन्दा पहिले प्रधानमन्त्रीलाई भेटेर सरकार सञ्चालनका बारेमा केही कुरा राख्न चाहेको भन्दै बुधबार साँझ भेट दिनका लागि आग्रह गरे ।

आफू बुधबार साँझ भैरहवाबाट काठमाडौं र्फकने र सिधै बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न आउने भुसालले प्रधानमन्त्री ओलीलाई भने ।

तर, प्रधानमन्त्री ओली बुधबार राति नै मन्त्रिमण्डल पुनर्गठन गरिसक्ने तयारीमा थिए । तर, फोनमा उनले यो कुरा भुसाललाई भनेनन् । बरु, अर्को प्रश्न सोधे, ठीकै छ, छलफल गरौंला, तर मन्त्री बन्ने कुरामा तपाईको सैद्धान्तिक धारणा चाहिँ के हो ?

प्रधानमन्त्रीको प्रश्नमा भुसालले सरकारमा सहभागी हुने विषयमा आफ्नो कुनै सैद्धान्तिक असहमति नरहेको तर त्यो भन्दा अगाडि सरकार सञ्चालको प्रक्रियाबारे छलफल हुनुपर्ने अनिवार्यता रहेको दोहोर्‍याए ।
प्रधानमन्त्री ओलीले बुधबार साँझ समय दिन नसक्ने भन्दै विहीबार बिहान ९ बजे बालुवाटारमा आउन भने ।

तर, सांसद भुसाल चढेको बुद्ध एयरको विमान काठमाडौं ओर्लिन नपाउँदै आकाशमै रहेका बेला मन्त्रीहरुको नामावली सार्वजनिक भयो, जसमा भुसाललाई कृषि, मन्त्रीका रुपमा घोषणा गरियो । त्रिभुवन विमानस्थलबाट ओर्लेर निवासतर्फ जाँदै गर्दा भुसालले आफ्ना निकटस्थहरुलाई फोनमा भनिरहेका थिए, मन्त्रालयको कुरो गर्नुभन्दा पहिले भोलि बिहान ९ बजे प्रधानमन्त्रीसँग भेटेर केही सैद्धान्तिक प्रश्नमा छलफल गर्नै बाँकी छ ।