सरकारले हालै सङ्घीय संसद्मा दर्ता गराएको विधेयक तत्काल फिर्ता गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सरकारले हालै सङ्घीय संसद्मा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयले सोमबार एक विज्ञप्तिमार्फत उक्त विधेयकमा भएका व्यवस्थाले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रतालाई कुण्ठित गर्ने उल्लेख छ ।

प्रमुख सचेतक बालकृष्ण खाणले विधेयकबाट नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भङ्ग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने भन्दै संविधान प्रतिकूल ऐन बनाउने कार्य कांग्रेसलाई स्वीकार्य नभएको उल्लेख गरेका छन् ।

प्रस्तुत भएको विधेयक संविधानमा उल्लिखित मौलिक हकको प्रतिकूल भएको टिप्पणी गर्दै विधेयकलाई तत्काल फिर्ता गर्न कांग्रेस संसदीय दलले माग गरेको छ । साथै संविधानको प्रतिकूल र नागरिकका स्वतन्त्रता हित विपरीत हुने खालका विधेयक प्रस्तुत नगर्न सरकारलाई कांग्रेसले सचेत गराएको छ ।