बालुवाटारमा मन्त्री हेरफेरको कसरत, कसको बिदाई को नयाँमन्त्री ?

 

काठमाडौं । आकस्मिक प्रदेश प्रमुख फेरबदल गरेलगतै नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद फेरबदलको तयारीमा जुटेका छन् । लामो समयदेखि मन्त्री हेरफेर कसरत चलेपनि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन सकेको थिएन । तर पछिल्लो समय मन्त्री फेरबदलका लागि दुई अध्यक्षबीच सहमति जुटेको स्रोतले बताएको छ ।

दुई बर्ष मन्त्री भइसकेका अधिकाँस मन्त्रीहरुलाई बिदा गर्ने र नयाँ अनुहारलाई मन्त्री परिषदमा ल्याउने तयारी दुई अध्यक्षले गरेका छन् । ‘वर्तमान तीन मन्त्रीलाई मात्र निरन्तरता दिने अन्यका ठाउँमा नयाँ मन्त्री ल्याउने तयारी भइरहेको छ’ प्रचण्ड निकट एक नेकपा नेताले भने ‘दुई अध्यक्षले नयाँ बन्न मन्त्रीको नाम मोटामोटी टुंग्याइ सक्नुभएको छ ।’

नयाँ मन्त्रीपरिषद बिस्तारपछि नेकपाको समिकरणमै प्रभाव पर्ने लगभग निश्चित छ । समिकरणमा फेरबदल नहुनेगरी नयाँ मन्त्री ल्याउने कसरत दुई अध्यक्षले थालेका छन् । पुराना तीन मन्त्रीलाई मात्र राख्ने अरुलाई बिदा दिने तयारी गरिएको छ । गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री बर्षमान पुन र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यथावत रहने सम्भावना छ भने अन्यमन्त्रीहरु फेरबदल हुने भएका छन् ।

दुई अध्यक्षले मन्त्रीपरिषद हेरफेर गर्न थालेपछि मन्त्री बन्नेहरुले दौड बढाएका छन् भने बहालवाला मन्त्रीहरुले पनि कसरत थालेका छन् । नयाँ मन्त्रीमा उपप्रधानसहित सुवास नेम्वाङ, पार्टी महासचिव बिष्णु पौडेल, महेश बस्नेत मन्त्री बन्ने पक्का छ भने पूर्वमाओवादी खेमाबाट जनार्दन शर्मा, देवेन्द्र पौडेल मन्त्री बन्ने पक्का छ ।

प्रदेश प्रमुखजस्तै नेता माधवकुमार नेपाल खेमालाई मन्त्रीपरिषदबाट बाहिर राख्ने लगभग निश्चित छ । तरपनि चितवनको राजनीति जोडिएका कारण नेपाल खेमाका सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउने गरी प्रचण्डले कसरत थालेका छन् । नेपाल खेमालाई समेट्नभन्दा चितवनको आफ्नो राजनीति जोगाउन प्रचण्डले कसरत थालेको नेपाल निकट एक नेताले बताए ।

प्रधानमन्त्री ओलीले केही समयअघि नै मन्त्रीपरिषद हेरफेरको तयारी गरेका थिए । अध्यक्ष दाहालको सहमतिमा मन्त्रीपरिषद हेरफेरको तयारी गरेपनि राष्ट्रपति बिद्यादेवी भण्डारीको म्यानमार भ्रमणले रोकिएको थियो । पछिल्लो समय केही नेताहरुले उपनिर्वाचनभन्दा अगाडी मन्त्रीपरिषद हेरफेर नगर्न दुई अध्यक्षलाई सुझाव पनि दिएका छन् । तर दुई अध्यक्ष उप निर्वाचनभन्दा पहिले नै मन्त्रीपरिषद हेरफेरको तयारीमा जुटेको स्रोतले बताएको छ ।