गर्भमा रहेदेखि मृत्युसम्म सरकार जनताको साथमाः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गर्भमा रहँदादेखि मृत्युसम्म नै सबै नागरिकलाई समेट्दै सरकार हरेक जनताको साथमा रहेको बताएका छन् ।

पहिलो सामाजिक सुरक्षा दिवस र योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको आज यहाँ आयोजित विशेष समारोहमा शुभारम्भ गर्दै उनले भर÷अभरमा सुरक्षा दिने र श्रम गरेवापत उचित पारिश्रमिक दिने राज्य नियन्त्रणकारी संस्था मात्रै नभई आफ्ना नागरिकको अभिभावक भएको बताउँदै सिङ्गो नेपाली समाज एउटा नयाँ युगतर्फ प्रवेश गरेको बताएका छन् ।

प्रधानमन्त्रीले भने, ‘यो नयाँ प्रणाली, लक्षित उमेर समूह वा समुदायलाई मात्र हैन, सबैका लागि हो । यो ज्याला रोजगारी हुने र नहुने युवा हुन् वा वृद्ध, स्वस्थ्य हुन् कि बिरामी, बालबच्चा भएका वा नभएका, आम्दानी भएका वा नभएका सबैलाई हो ।’ वर्तमान सरकार श्रमजीवी जनताको भविष्य सुरक्षित गर्ने योजना निर्माणमा तल्लीन रहेको स्पष्ट गर्दै उनले भने, ‘सरकार हरायो, कहाँ छ, के गर्दैछ भन्नेलाई आज म भन्न चाहन्छु, सरकार यहाँ छ, श्रमजीवी जनताको बीचमा छ ।’

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नै सबैका लागि र सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना सञ्चालन गर्ने बताएको स्मरण गर्दै उनले भने, ‘आजभन्दा २५ वर्ष पहिले हामीले नै पहिलो चोटि अल्पमतको सरकार बनेका बेला ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाको नयाँ प्रणाली थालेका थियौँ । त्यो एउटा दलको सरकारले एक आर्थिक वर्ष वा एक कार्यकालमा सीमित हुने गरी ल्याएको एउटा आर्थिक सहायताको कार्यक्रम थिएन, एक चोटि शुरु भएपछि निरन्तरता पाउने प्रकृतिको सामाजिक प्रणालीको थालनी थियो ।’

वृद्धभत्ता वितरण शुरु गर्दा कनिका छरेको, ढुकुटी रित्याएको र आर्थिक अनुशासन भङ्ग गरेको जस्ता अनावश्यक र गैरजिम्मेवार आरोप लगाइने गुनासो गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कतिले यसलाई बुझेनन् । कतिले यसलाई कम्युनिष्ट सर्वसत्तावादी कार्यक्रम ठाने । कतिले यसलाई बुझेर पनि बुझ पचाए ।’

सरकारी सेवामा रहेकालाई ‘मान र मानो’ दुवै दिने तर अन्य सेवामा रहेकालाई बेवास्ता गरिने प्रचलनलाई सुधार्ने प्रयास थालिएको जानकारी दिँदै उनले श्रमको सम्मान गर्न र बैलाई श्रममा लाग्न उत्प्रेरित गर्न आधुनिक सभ्य समाजअनुरुप सिङ्गो समाज मिली सबैको संरक्षण गर्ने प्रणालीमा प्रवेश गरिएको बताए ।

‘त्यतिबेला हामीले एउटा प्रणाली थालेका थियौँ । त्यसको शुरुआत पाकाबाट ग¥यौँ, ती हाम्रा अभिभावकमा लामो आयु बाँच्ने आशा जगायौँ’, उनले भने, ‘६० नाघेका मानिस हाम्रो के भर’ भन्ने निराशाको ठाउँमा ‘कम्तीमा पनि ७० ननाघी, राज्यले दिने भत्ता नलिई मर्दिन’ भन्ने मान्यता स्थापित गरायौँ । छाडा पूँजीवादी व्यवस्थामा सन्तानले फ्याँक्छ तर न्यायिक राज्यमा मेरो सरकार छ, मेरो राज्य छ त्यसैले मलाई पाल्छ भन्ने सन्देश प्रवाह ग¥यौैँ ।’

गर्भमा रहेदेखि नहुर्केसम्म शिशु संरक्षण र स्याहारको ‘सुनौलो एक हजार दिन’को अवधारणा आफूहरूले नै ल्याएको जानकारी दिँदै प्रधानमन्त्रीले बाल संरक्षण अनुदान, मातृत्व संरक्षण सुविधा, सबैका लागि शिक्षाजस्ता कार्यक्रम यसपछिका शृङ्खला हुन् भने ।

सामाजिक सुरक्षाका योजनाले ज्यालाजीवी, जङ्गी÷निजामती र स्वरोजगारीमा रहेका सबैलाई समेट्ने जानकारी दिँदै उनले यसले औपचारिक वा अनौपचारिक श्रम क्षेत्रमा कार्यरत सबै श्रमिकलाई समेट्छ भने । उनले भने, ‘अब सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर पर्दैनन् । आजदेखि शुरु हुने सामाजिक सुरक्षाका योजना मूलतः ज्याला रोजगारी र स्वरोजगारीमा रहेकाप्रति केन्द्रित छ ।’

सामाजिक सुरक्षा कोषले तय गरेको ‘सहभागिता, योगदान र सामाजिक सुरक्षा’ नारामा यसको विधि, प्रक्रिया र दायरा स्पष्ट प्रतिविम्बन भएको बताउँदै उनले श्रमजीवी जनताका लागि शुरु गर्न लागिएको चार सुरक्षाका योजनाले श्रमशक्ति किन्ने र श्रमशक्ति बेच्ने दुवै पक्षलाई हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।

मंगलवार राजधानीमा आयोजना गरिएको सामाजिक सुरक्षा कोष, नेपालको औपचारीक शुभारम्भ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ।

सुरक्षा योजनाको निजी क्षेत्रद्वारा स्वागत

सरकारले आजदेखि लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना नीतिलाई निजी क्षेत्रले स्वागत गरेको छ ।

श्रमिकको भविष्य र उद्योगको लगानीको सुनिश्चित हुने भएपछि निजी क्षेत्रले योजनाको स्वागत गर्दै नेपालले श्रम क्षेत्रमा नयाँ युग प्रवेश गरेको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गर्दै आजदेखि लागू गरेको हो ।

मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको सामजिक सुरक्षा योजना घोषणा कार्यक्रममा श्रमिकदेखि रोजगारदाता उल्सासपूर्वक सहभागी भएका थिए । योजनाअन्तर्गत अब श्रमिकले आजीवन निवृत्तिभरण पाउनेछन् र उद्योग व्यवसायमा पनि लगानी सुरक्षित भई गुणात्मक उत्पादन बढाउन सहयोग पु¥याउनेछ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले योजना लागू भएपछि नेपाल श्रम क्षेत्रमा नयाँ युगमा प्रवेश गरेको बताइन् । उनले योजनाले श्रमिक मात्र नभई हरेक नेपालीको जीवन प्रभावित बनाउने भएकाले सफल कार्यान्वयन गर्नुपर्ने बताइन् । ‘योजनाले श्रमिकको भविष्य सुरक्षित बनाउनाका साथै उद्योग–व्यवसायले पनि उत्पादनमा उल्लेखनीय वृद्धि हुनेछ,’ उनले भनिन्, ‘नेपालको श्रमबजार गतिशील र मर्यादित बनाउन यसले सहयोग पु¥याउँछ ।’

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपालमा नै काम गरेर खाने वातावरण सिर्जना गरेको बताए । उनले उद्योगी रोजगारदाताले पाँच कदम अगाडि बढेर योजना ल्याएको भन्दै यसको सफल कार्यान्वयनसँगै १० वर्षभित्रमा सबै नेपाली आफैँ व्यवस्थापक बन्ने दाबी गरे ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका निवर्तमान अध्यक्ष सुरेश प्रधानले रोजगारदाता र श्रमिकबीच सम्बन्धमा सुधार ल्याई व्यवस्थित उद्योग सञ्चालनमा सहयोग पु¥याउने बताए । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले मुलुकलाई आर्थिक समृद्धितर्फ लैजाने आधार खडा गरेको बताउनुभयो । नेपाल रोजगारदाता परिषद्का अध्यक्ष चन्द्र ढकालले योजनाले आर्थिक अभावमा वैदेशिक रोजगारमा जानेलाई नेपालभित्र नै श्रमबजार उपलब्ध गराउने बताए ।

निवृत्तिभरण योजनाअन्तर्गत योगदानकर्ताले अवकाश उमेर पूरा भएपछि निजले कोषमा जम्मा गरेको योगदान रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कूल योगलाई १८० महीना अर्थात् १५ वर्ष ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पाउनेछन् । निवृत्तिभरण प्राप्त गर्न योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा पन्ध्र वर्ष योगदान गरेको हुनुपर्नेछ । योजनाअनुसार सामाजिक सुरक्षा कोषमा रकम जम्मा हुनेछ सोही रहमबाट श्रमिकले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् ।

नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले योजनाले नेपाली नेपालमा नै उचित पारिश्रमिक पाउनका लागि भौँतारिनुनपर्ने र वैदेशिक रोजगारमा समेत जानु नपर्ने बताए । उनले श्रमिक वर्गको जीवन सुधार ल्याउन योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै लोकल्याणकारी व्यवस्थाबाट मुलुकमा समाजवाद ल्याउन कडीका रुपमा योजना रहेको बताए ।

अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष गणेश रेग्मीले नेपाली मजदूर सामाजिक सुरक्षाका लागि वर्षौंैदेखि लड्दै आए पनि अहिले मात्र माग पूरा भएको बताए । उनले कामबाट हट्दा खाली हात फर्कनुनपर्ने र आजीवन निवृत्तिभरण पाइने भएकाले श्रमिकको उचित मूल्याङ्कन गरिएको बताए । नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष पुष्कर आचार्यले योजनाले मुलुकमा उत्पादन वृद्धि र रोजगारी वृद्धिमा उल्लेखनीय योगदान गर्ने बताए ।

संयुक्त ट्रेड युनियन समन्वय समितिका महासचिव चिराकसिंह कुँवरले नेपालमा नै भनेजस्तो श्रमिकले सुविधा पाउने भएकाले रोजगारीका लागि लाखौँ नेपाली विदेशिनुपर्ने अवस्थाको अन्त्य भएको बताए । समाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले श्रमिकले औषधोपचारदेखि आजीवन निवृत्तिभरण पाउने भएकाले श्रमले भविष्य नेपालमा रहेको बताए ।