मृत्युदण्डको सजाय सुनाइएका पूर्वराष्ट्रपति मुसर्रफको बचाउ अभियानमा पाकिस्तानी सेना

पाकिस्तानका पूर्वसैन्य प्रमुख तथा पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई अदालतले मृत्युदण्डकाे सजाय सुनाएपछि उनकाे बचाउमा पाकिस्तानी सेना अघि सरेकाे छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले प्रेस विज्ञप्ति जारी गर्दै अदालतको फैसला दुःखद् रहेको र सेनालाई धक्का पुगेको बताएका छन्।

गफूरले विज्ञप्तिमा भनेका छन्, ‘पूर्वसेना प्रमुख तथा पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफले ४० वर्ष देशको सेवा गरेका छन्। जुन व्यक्तिले देशको रक्षाका लागि लड्यो, त्यो व्यक्ति कहिल्यै देशद्रोही हुन सक्दैन। यो अदालती कारबाहीमा संविधानको पनि उपेक्षा गरियो। मुसर्रफलाई अदालतमा आत्मरक्षा गर्ने मौका पनि दिइएन। बिनाठोस सुनुवाइ हतारमा फैसला सुनाइयो।’

प्रवक्ता गफूरले पाकिस्तानी सेनाले अदालतको फैसला देशको संविधानअनुसार होस् भन्ने आशा राखेको पनि बताएका छन्।
पाकिस्तानी विशेष अदालतको तीन न्यायाधीशको बेन्चले मंगलबार मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाएको हो।

पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमल सेठ, सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शाहिद करिमको बेन्चले मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाएको हो।मुसर्रफले सन् २००७ नोभेम्बर ३ तारिखमा संविधानलाई लत्याउँदै पाकिस्तानमा संकटकाल घोषणा गरेका थिए। यही मुद्दा सन् २०१३ को डिसेम्बरदेखि विचाराधीन अवस्थामा रहेको थियो।

मुसर्रफ अहिले दुबईको एउटा अस्पतालमा उपचार गराइरहेका छन्। अदालतको फैसलापछि उनले अस्पतालबाटै प्रतिक्रिया दिएका छन्, ‘अदालतको फैसला एकदमै आधारहीन छ। मैले १० वर्षसम्म देश र सेनाको नेतृत्व गरेँ। पाकिस्तानका लागि युद्ध पनि लडेँ। मलाई प्रताडित गरिएको छ।’

मुसर्रफको कानुनी टिम विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। यदि सर्वोच्च अदालतले मुसर्रफको अपिल सुनेमा राष्ट्रपतिले संवैधानिक अधिकारको मातहतमा रहेर मृत्युदण्डको सजाय माफी दिन सक्नेछन्।