अस्ट्रेलियामा अग्नि नियन्त्रकसहित आगो निभाउन उडेको विमान दुर्घटना, तीनको मृत्यु

काठमाडौँ । अस्ट्रेलियामा अग्नि नियन्त्रकसहित आगो निभाउन उडेको विमान दुर्घटना भएको छ । दुर्घटनामा परि विमानमा सवार तीन जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

बिहीबार बिहानै सम्पर्क बिहीन भएको विमान दक्षिण न्यु साउथ वेल्सको हिउँले भरिएको पहाडमा ठोक्किएको अवस्थामा भेटिएको जनाइएको छ । क्यानेबरादेखि २ घन्टा टाढा उक्त क्षेत्रमा विमानमा सवार सबै मृत भेटिएका छन्।

विमान दुर्घटनाको कारणबारे केही खुल्न सकेको छैन। अस्ट्रेलियामा अक्टोबर महिनादेखि भीषण आगलागी जारी छ। झाडीमा लागेको डढेलो जंगरभरी फैलिएको छ। हालसम्म यस डढेलोले अस्ट्रेलियाका २ हजारभन्दा बढी घर जलेर नष्ट भएका छन्।

२८ जनाभन्दा बढीको मृत्यु हुनुका साथै जनावर, चरा, किरासहित करोडौं जीव मरेका छन्।