कोरोना भाइरसका कारण हिमालय एयरलाइन्सले आफ्नो चीनतर्फको सबै उडान रद्द गर्ने

काठमाडौं । हिमालय एयरलाइन्सेले आफ्नो चीनतर्फको सबै उडान रद्द गर्ने भएको छ । चीनमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि चीनतर्फको आफ्नो पाँचवटै उडान रद्द गर्न लागेको हो । एयरलाइन्सले भोलिदेखि नै छाङ्सा, सेन्जेन, छोयाङको उडान रद्द गरिसकेको छ ।

एयरलाइन्सले फेबु्रअरी ७ मा अन्तिम उडान गर्नेछ । त्यसपछि अनिश्चित समयसम्मका लागि चीन उडान नहुने एयरलाइन्सकी ब्रान्ड विभाग प्रमुख उज्योला दलीले बताइन् ।

हिमालयले फेब्रुअरी ६ मा बेइजिङ र ७ फेबु्रअरीमा चोङचिङ अन्तिम उडान गर्नेछ । हिमालयले चोङचिङ माघ ९ गतेदेखि मात्रै उडान सुरु गरेको थियो ।

चिनियाँ यात्रुको संख्यामा कमी

कोरोना भाइरसकै कारण नेपालमा आउने चिनियाँ नागरिकको संख्यामा पनि कमी आएको छ । चीन सरकारले नै आफ्ना नागरिकलाई सकेसम्म अन्य देशमा नजान आग्रह गरेकाले नेपाल आउने चिनियाँ नागरिकको संख्यामा कमी आएको हुन सक्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले चिनियाँ यात्रुको संख्यामा कमी आएको बताए । उनले अन्य विमान कम्पनीहरूले नेपालबाट वा नेपालतर्फको उडान रद्द नगरेको तर हिमालयले भोलिदेखि कम्पनीको चीनतर्फको तीन गन्तव्यमा उडान रद्द गरेको लिखित रूपमा जानकारी गराएको बताए ।