७२ घण्टाभित्रै सञ्चालनमा आयो चितवनको ७० शैयाको अस्पताल

चितवनमा ७२ घण्टाभित्र ७० शैयाको कोरोना विशेष अस्थाई अस्पताल सञ्चालनमा आएको छ।

आज बिहान ११ बजे अस्पतालको सुभारम्भ भएसँगै अस्पताल सञ्चालनमा आएको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन्।

अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन्। भरतपुर महानगरपालिका १० स्थित प्रदर्शनी केन्द्रको तीनटा भवनमा अस्पताल स्थापना गरिएको हो।

अस्पताल सञ्चालनको जिम्मा भने महानगरले लिएको छ। अस्पताल तयार पार्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र सर्वसाधरण समेत गरेर १ सय ५० जना जनशक्ति खटिएका थिए।

५० वटा जनरल बेड राख्ने काम बिहीबार नै सकिएको थियो। आइसियू र एचडियू बेड पनि शुक्रबार दिउँसोसम्म जडान गरिसक्ने महानगरको तयारी छ।

‘७२ घण्टाको समयसीमा तोकेपछि काम सक्न एकदमै प्रेसर भयो। सबैले उतिकै साथ दिएपछि भने अनुसार काम भयो’ मेयर दाहालले भनिन्।