चीनको नयाँ चुनौतीः चीनभित्र कोरोना भाइरसका नयाँ संक्रमित भेटिएन

एजेन्सी । चीनमा लगातार दुई दिनसम्म देशभित्र कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छैनन्। कोरोना भाइरसको उदगम थलो वुहानलगायत सहरमा बुधबार र बिहीबार नयाँ संक्रमित भेटिएनन्। देशभित्रको संक्रमणलाई नियन्त्रणमा ल्याए पनि बाहिरबाट आएका चिनियाँमा भने कोरोनाको संक्रमण बढ्न थालेको छ।

बिहीबारमात्र चीनमा ३९ जनालाई कोरोना देखिएको छ। र उनीहरू विभिन्न सहरमा भेटिएका छन्।

गुवाङदोङ १४, सांघाईमा ८ र बेइजिङमा ६ जना विदेशबाट आएका मानिसमा कोरोना देखिएको हो। त्यस्तै तान्जियान, साङदोङ, गान्सु, फुजियानलगायत क्षेत्रमा पनि नयाँ बिरामी देखिएका छन्।

विभिन्न कामका लागि इरान, युरोपमा गएका चिनियाँहरू त्यहाँ संक्रमण बढ्न थालेपछि अहिले धमाधम घर फर्किरहेका छन्।

आयातीत संक्रमितहरू देशभरि नै फैलिएकाले कतिपयले चीनमा कोरोना भाइरसको दोस्रो लहर आउन सक्ने भन्दै चेतावनी दिएका छन्।

चीनमा कोरोना भाइरसबाट शुक्रबारसम्म ८० हजार ९ सय ७६ मानिसमा कोरोना भाइरस देखिएको छ भने ३ हजार २ सय ४८ जनाको मृत्यु भएको छ।