रोहिङग्यालाई बुधबारदेखि म्यानमार फिर्ता गरिँदै

याङ्गुन– (रासस/सिन्ह्वा)– हाल बङ्गलादेशमा रहेका म्यान्माली रोहिङग्या शरणार्थीलाई स्वदेश फर्काउने विषयमा म्यानमारका विदेशमन्त्री तथा राज्य सल्लाहकार आङ सान सुकीले राखिन राज्यका अधिकारीसँग छलफल गर्न लागेकी छन् ।

उनले उनीहरुको फिर्तीका लागि उक्त राज्यले अवलम्बन गर्नुपर्ने विशेष कार्यक्रमका बारेमा सल्लाह गरेको र त्यसका लागि आवश्यक कार्ययोजना पनि पारित गर्न लागेको बताइएको छ ।

म्यानमार र बङ्गलादेशका अधिकारीबीच राहिङग््याको फिर्तीका लागि गत महिना नै सहमति भएको थियो । उक्त सहमति बमोजिम रोहिङग््यालाई बुधबारदेखि स्वदेश फर्काउने कार्यक्रम रहेको छ ।

उनीहरुलाई म्यानमार फिर्तागर्ने सहमति भएको एक दिनअघि सो विषयमा विदेशमन्त्री सुकीले आवश्यक कार्ययोजनाका लागि सल्लाह गर्न लागेकी हुन् ।

गत अगष्ट महिनामा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफि अन्नानको संयोजकत्वमा रहेको राष्ट्रसंघीय एक आयोगले प्रतिवेदन सार्वजनिक गर्दै रोहिङग््यालाई जतिसक्दो चाँडै स्वदेश फर्काउने वातावरण बनाउने सुझाव दिएको थियो ।

राखिन राज्यमा रोहिङग््या मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण दशौँ हजार व्यक्ति राखिन राज्यभित्र र बाहिर विस्थापित भएका छन् ।

गएको अगष्ट २५ तारिखदेखि उक्त विवाद सुरु भएको छ । सो विवादका कारण रोहिङग््याले देश छोडेका छन् । जसका कारण म्यानमारमा ठूलो राजनीतिक तनाव पनि सुरु भएको छ ।

अहिलेसम्म यहाँबाट भागेर बङ्गलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या छ लाखभन्दा बढी पुगेको छ । उनीहरुलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकता समेतको व्यवस्था नरहेको बताइन्छ ।

यता स्वदेशभित्रै आन्तरिक शरणार्थीे बनिरहेकाको अवस्था पनि त्यस्तै छ । विस्थापित यी व्यक्ति पहाडी इलाकामा बस्दै आएका छन् र खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार बिना नै बसेका छन् ।

उता म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबीगर्दै आएको छ । सरकारले सेनाले नै जनता लखेटेको भन्ने समाचारमा कुनै सत्यता नरहेको दावीगर्दै आएको छ । म्यानमारका विदेशमन्त्री एवम् म्यानमार राज्यका राज्य सल्लाहकार आङ् सान सुकीले पनि उक्त समुदायका नागरिकमाथि यहाँको सरकारले ज्यादति गरेको भनी दुष्प्रचार मात्र गरिएको बताउने गरेकी छन् ।

यस विषयमा छलफलका लागि राष्ट्रसंघीय सुरक्षा परिषद्ले पनि बारम्बार छलफल गर्दै आएको छ । राष्ट्रसंघको दवाबका कारण पनि रोहिङग््यालाई स्वदेश फर्काउने निर्णयमा दुवै देश पुगेका हुन् । म्यानमार सरकारले गत डिसेम्बर १४ मा एक सल्लाहकार परिषद्को गठन गरेको थियो । म्यानमार र थाइल्याण्डका उच्च अधिकारीको सहभागितामा निर्माण गरिएको सो परिषद्ले रोहिङग््याको फिर्ताका लागि केही काम गरेको थियो ।

त्यस विषयमा मङ्गलबार सुकीले बोलाउनुभएको बैठकमा छलफल हुने बताइएको छ । सो बैठकमा उनीहरुको फिर्तीका लागि आवश्यक कार्ययोजनाका बारेमा तयारी गरिने पनि जानकारी दिइएको छ ।

सुरक्षा माग्दै प्रदर्शन

उता बङ्गलादेशमा रहेका ती शरणार्थीले आफूहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

बङ्गलादेशको कोक्स बजार क्षेत्रमा शरणार्थी शिविरमा बस्दै आएका उनीहरुले आफूहरुलाई स्वदेश फर्काउन लागिएको अघिल्लो दिन आफूहरुलाई स्वदेश फर्काइएपछिको सुरक्षाको सुनिश्चितता मागगर्दै प्रदर्शन गरेका हुन् ।

स्वदेश फर्किएपछि पनि सेनाले आफूहरुलाई बस्न र सुरक्षाको प्रत्याभूति दिनेमा आफूहरु ढुक्क हुने अवस्था नरहेको उनीहरुको भनाइ छ ।