पीपीई सेटमा फोन उठाउन नसक्दा डा. पुनलाई कारवाही

काठमाडौं– भाइरोलोजीमा जापानबाट पिएचडी गरेका डा. शेरबहादुर पुनले पीपीई सेट लगाएको वेला फोन उठाउन नसक्दा कारवाहीमा परेका छन् । टेकु अस्पतालमा १८ वर्षदेखि निरन्तर करारमा सेवा गरिरहेका उनलाई कारवाहीका लागि स्वास्थ्य मन्त्रालयमा बोलाईएको छ ।

योबीचमा उनले सार्स, मलेरिया, कालाजार, जापानिज इन्सेफ्लाइटिस, स्वाइनफ्लु, डेंगुजस्ता संक्रामक रोगको बहादुरीपूर्वक सामना गरे, पुरस्कारमा सरकारले उनलाई अस्पताल छाडेर मन्त्रालयमा हाजिर हुन भनेको छ ।

गत बुधबार र बिहीबार टेकु अस्पतालका अधिकांश मेडिकल अफिसर आइसियूबारे तालिम लिन ह्याम्स अस्पताल गएका थिए । लगातार दुई दिन अस्पतालको ओपिडी डा। पुनले धानेको टेकु अस्पतालले जनाएको छ । अहिले सो अस्पतालमा कोभिड आशंका गरिएका बिरामी मात्रै आउने भएकाले पुन फुल पिपिई लगाएर बिरामी हेर्न बसेका थिए ।

त्यही वेला उता मन्त्रालयमा उनलाई बोलाएर जानकारी लिने तयारी भइरहेको थियो । कोभिड उपचार गर्ने देशको मुख्य अस्पताल टेकुका सरुवारोग विशेषज्ञ तथा क्लिनिकल रिसर्च युनिट संयोजक पुनले सञ्चारमाध्यममा कोभिडबारे लेखेको र बोलेको विषयमा मन्त्रालयले सोधपुछ गर्ने तयारी गरेको थियो । त्यसका लागि उनलाई फोन गरिएको थियो । ‘पिपिई लगाएर उपचारमा जुटेको स्वास्थ्यकर्मीले फोन उठाउन मिल्दैन, त्यो प्राविधिक रूपमा सम्भव छैन र अझ स्वास्थ्य प्रोटोकलले पनि त्यसो गर्न दिँदैन,’ डा। पुनले नयाँ पत्रिकासँग भने, ‘बिहीबार दिउँसो फोन आएको रहेछ, बेलुका मात्र थाहा पाएँ । मास मिडियामा किन बोलेको, किन लेखेको भनेर मन्त्रालयको चासो रहेछ ।’

आमसञ्चारका माध्यमबाट कोभिडविरुद्ध जनचेना फैलाएको विषयमा सोधपुछ गर्न मन्त्रालयले बोलाएको थियो । त्यसैले दिनभर बिरामीको सेवामा जुटेका डा। पुन साँझ घर गए । ‘मैले बोलेको विषयले देशमा केही भवितव्य परेको थिएन । फेरि रातिराति मन्त्रालय जाने कुरा भएन, शुक्रबार केही बिरामी हेरेर मन्त्रालय जाने सोच बनाएको थिएँ,’ उनले भने । तर, भन्नासाथ नआएको भनेर उनलाई पत्र नै लेखेर मन्त्रालयमा हाजिर हुन भनिएको छ ।

यसरी बिरामीको उपचारमा संलग्न चिकित्सकलाई २४ घन्टासमेत समय नदिई अहंकारपूर्वक कारबाही गरिएको छ । ‘२४ घन्टा पनि नबित्दै मलाई लिखित नै स्पष्टीकरण सोध्ने भनेर पत्र तयार पार्नुभएछ । मलाई त्यसरी हतोत्साही गराउन उहाँहरूले किन आवश्यक ठान्नुभयो, मैले बुझेको छैन । अन्योलमा छु,’ उनले भने । कोभिडबारे जनचेतना फैलाएको विषयमा चिकित्सकलाई कारबाही भएको विषयले सबैलाई आश्चर्यमा पारेको छ, डा। पुन आफैँ पनि चकित परेका छन् । भन्छन्, ‘यो वेला मानिसहरू विभिन्न भ्रम–त्रासमा बसिरहेका छन् । त्यसलाई चिर्ने विशेषज्ञ स्वास्थ्यकर्मीले नै हो । त्यसैले कोभिडबारे मैले लेख्ने र बोल्ने काम गर्दै आएको छु । यो हाम्रा पेसागत दायित्व मात्र होइन, मानवीय धर्म पनि हो । तर, त्यसैलाई पाप र गैरकानुनी भनिन्छ भने मेरो भन्नु केही छैन ।’

उता डा. पुनको यो सामान्य तर्क पनि मन्त्रालयले बुझेको छैन । सूचना दिने पनि समय हुन्छ भन्छन् मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख रघुराम विष्ट । उनले भने, ‘जनतालाई सूचना दिने पनि समय हुन्छ । जथाभावी दिन आवश्यक छैन । एकद्वार प्रणाली हुन्छ । मन्त्रालयमा प्रवक्ता डा। विकास देवकोटाभन्दा अर्को व्यक्ति बोलेको छैन ।’ तर, प्रवक्ता देवकोटालाई भने डा। पुनलाई किन कारबाही गरिएको भन्ने पनि जानकारी ‘छैन’ । शनिबार साँझ उनले नयाँ पत्रिकासँग भने, ‘मैले यो विषयमा राम्ररी बुझेको छैन, त्यसैले मैले बोल्नु उपयुक्त हुँदैन ।’