गाउँपालिकाद्वारा दैनिक खाजा भत्ता वितरण

भोजपुर- भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘लकडाउन’का समयमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दैनिक खाजा भत्ता वितरण गर्दै आएको छ । कार्यस्थलमा दिनरात खटिएका उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ भत्ता वितरण थालिएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् ।

उनले भनिन्, “कार्यस्थलमा दिनरात खट्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने उद्देश्यले गाउँकार्यपालिकाको निर्णयअनुसार उहाँहरुलाई दैनिक खाजा भत्ता दिँदै आएका छौँ ।”

गाउँपालिकाको निर्णयअनुसार सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका इञ्चार्जले दैनिक रु तीन÷तीन सय र अन्य सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले रु दुई÷दुई सयका दरले भत्ता पाउँदै आएका छन् । त्यस्तै इञ्चार्जले महिनामा रु एक हजार र स्वास्थ्य स्वयंसेविकाले रु ५०० का सञ्चार खर्चसमेत पाउँदै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङ, प्रहरी चौकी बास्तीम, प्रहरी चौकी च्याङ्ग्रेका तीन इञ्चार्जसहित ४१ जना सुरक्षाकर्मीलाई भत्ता दिँदै आएको छ । त्यस्तै स्वास्थ्य चौकी श्यामशिला, तिवारीभञ्ज्याङ, बास्तीम, च्याङ्ग्रे, सानोदुङमा र ठूलोदुङमाका छ जना इञ्चार्जसहित ३५ जना स्वास्थ्यकर्मीले पनि भत्ता पाउँदै आएका छन् ।

त्यस्तैगरी गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्ने ठूलोदुङमाको फत्तेपुर, सानोदुङमाको अधेँरीघाट र सिक्रेमा पर्ने मुख्य सीमानाकामा रहेका तीन जना हेरालुलाई दैनिक रु एक हजार भत्तासँगै रु एक हजार सञ्चार खर्च र ५४ जना स्वास्थ्य स्वयंसेविकालाई मासिक रु ५०० का दरले सञ्चार खर्च दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईले जानकारी दिए ।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन गाउँपालिकाका सबै घरघरमा स्वास्थ्यकर्मीले जाँच गर्ने व्यवस्था मिलाएको उपाध्यक्ष राईले जानकारी दिए । गाउँपालिकाले सबै स्वास्थ्य चौकीमा नेपाल सरकारले दिएको ३५ प्रकारका औषधिबाहेक अन्य थप नौ प्रकारका औषधि खरिद गरेर वितरण गरेको उनको भनाइ छ ।

“कोरोनाको यो अवस्थामा गाउँपालिका गम्भीर भएर लागेको छ, हामीले गर्भवती महिलालाई क्याल्सियम र किशोरीलाई आइरन चक्की नियमितरुपमा वितरण गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने ।

गाउँपालिकाले कार्यसम्पादनलाई ध्यानमा राख्दै भक्ता वितरण गरेकाले दैनिक काम गर्न सहज भएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानु दाहालले बताए । संयोजक दाहालले भने, “अन्य ठाउँमा यस्तो सुविधा छैन, गाउँपालिकाले गरेको यो निर्णयले हामीलाई काम गर्नमा मनोबल थपिएको छ, भने कार्यस्थलमा खट्नसमेत सहजता छ ।” गाउँपालिकाका अनुसार गत वैशाख महिनासम्म करिब रु सात लाख भत्ताबापत निकासा भइसकेको छ ।