नेकपाको विवाद उत्कर्षमा, प्रचण्ड र ओलीमध्ये एक जना पछि हट्ने कि विभाजन रोज्ने ?

काठमाडौं– लामो समयदेखि विवादको भूमरीमा फँसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद आजदेखि झन सतहमा आएको छ ।
जेट विमानमा दुईजना पाईलट हुन्छ भन्दै दुई अध्यक्ष रहने प्रणालीको साथ तात्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकीकरण टुंगोमा नपुग्दै पार्टीभित्र ठूलै रडाँको मच्चिएको छ । दुई अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आज पहिलो पटक एक जनाले पार्टी बैठक स्थगित गरेका छन् भने अर्का अध्यक्षले एक पक्षीय रुपमा बैठक गरेसँगै विवाद उत्कर्षका पुगेको हो ।
आज विहान प्रचण्ड र खनालले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टी बैठकमा सहभागी हुन आग्रह गरे पनि ओली बैठकमा उपस्थित नभएको र एकतर्फी रुपमा बैठक स्थगित गरेको सूचना विहान जारी भएपछि अर्का अध्यक्ष प्रचण्ड र उनलाई साथ दिइरहेका वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल सहितको बैठक बसेको छ । यसरी एक अध्यक्षले बैठक स्थगित गर्ने र अर्का अध्यक्षसहितको टोलीले बैठक बस्ने भएपछि सतहमा आएको पार्टीभित्रको किचलो जति ढाकछोप गर्न खोजेपनि सतहमा आयो ।

नेकपाका एक सचिवालय सदस्य नेताले जसरी बैठक स्थगित भयो, त्यो अनुचित छ र त्यो बैठक पार्टीको विधि र परम्परा विपरित भनेका छन् भने अर्का एक सदस्यले आजको बैठक एउटा सामान्य समूहको भेला मात्र भनेका छन् ।
अर्का नेता हरिबोल गजुरेलले बैठकमा सहभागी हुन नेताद्वयको आग्रह ओलीले नमानेको बताए । बैठकमा प्रचण्डले दिएको जानकारीबारे उनले भने, “प्रचण्डले प्रधानमन्त्रीलाई तपाईँले सल्लाह नगरी बैठक स्थगित गर्न मिल्ने थिएन, बैठकमा जाँउ फेरि अर्को दिन बस्ने गरी स्थगित गरौँला भन्नुभयो । तर प्रधानमन्त्रीले मान्नु भएन ।’

ओली पक्षका नेताले थप परामर्श गर्नका लागि बैठक स्थगित गरिएको बताउँछन् भने प्रचण्ड पक्षका नेताहरुले भने परामर्शकै लागि बैठकमा ओलीलाई प्रचण्ड र झलनाथ खनालले आग्रह गर्दा बैठकमा आउनै चाहेनन् ।

यसरी दुई अध्यक्षबीचको रस्साकस्सीले अब दुई विकल्प अघि आइसकेको प्रष्ट भएको रानीतिक बृत्तमा चर्चा छ । लामो समयसम्म निकासको लागि छलफल र गृहकार्य चलिरह्यो भने कतै खबरदारी भेला त कतै हस्ताक्षर संकलन सम्मको अभियान चले तर कुनै दाल गलेन । यतिसम्म किचलो बढिसक्यो कि खुल्लमखुल्ला सार्वजनिक सभाहरुमै एक पक्षले अर्का पक्षलाई खुईल्याउने र होच्याउने सवाल–जवाफ जस्तो दोहोरी चलेको छ । अब यति भएपछि दुवै अध्यक्ष लचिलो भएर निकास निस्कने छाँट टर्दै गरेको छ । कि त अब दुई मध्ये एकले पार्टी फुटाउछन् कि त दुई मध्ये कुनै एक अध्यक्ष लचिलो भएर आफ्नो ‘बाह्रै टक्का’ छोड्न राजी हुनुप¥यो र सम्भावित जोखिमलाई टार्दै महाधिबेशन कुर्नुको बिकल्प छैन ।

त्यसैगरी बामदेव गौतले अचानक एउटा प्रस्ताव अगाडी सारेका छन् । गौतमको यो प्रस्तावपछि भने सचिवालयमा शक्ति सन्तुलन फेरिएको छ । ओलीको पक्षमा बहुमत पुग्ने देखिएको छ र प्रचण्ड अल्पमतमा परेका छन् । अब गौतमले अगाडी सारेको आफ्नो प्रस्तावमा अडिग रहने हो भने प्रचण्डले नै कि त पार्टी फुटाउने कि त लचकता देखाएर अधिबेशन सम्म पर्खिने भन्ने हुने राजनीतिक विश्लेषकहरुको विश्लेषण छ ।