बंगलादेशी गीतमा जम्दै मोडल नारायण ढकाल

काठमाडौं (पास)– बंगलादेशी गायिका सुस्मिता अनिशको स्वरमा रहेको गीतमा मोडलिङ गरेका नारायण ढकालले यतिबेला अन्तर्राष्ट्रिय बजारमा चर्चा बटुल्न थालेका छन् ।

‘म्यालेन्टाईन डे’को अवसरमा सार्वजनिक गरिएको उक्त बंगलादेशी गीत यतिबेला बंगलादेश, भारतलगायतका देसहरुमा चर्चित बनेपछि ढकालको चर्चा पनि गीतसँगै अन्तर्राष्ट्रिय बजारमा हुन थालेको हो ।

नेपाली गीतसंगीत मार्फत परिचित बनेका मोडल तथा भिडियो निर्देशक नारायण ढकाल पछिल्लो समय आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराउन संघर्षरत रहेको बताउँछन् ।

बंगलादेशबाट नेपाली मोडल र नेपाली पर्यटकीय क्षेत्रलाई कैद गरेर निर्माण गरिएको म्यूजिक भिडियो ‘तोमर आकाश’ मा नारायण ढकालको साथमा बंगलादेशकै मोडल तान्जिन तिसाले अभिनय गरेकी छन् । यस म्यूजिक भिडियोलाई बंगलादेशकै निर्देशक तनिम रहमान आङ्शुले निर्देशन गरेका हुन् ।

बंगलादेशकै चर्चित गायिका सुस्मिता अनिशको स्वरमा रहेको तमोर आकाशलाई सोहेल अर्मनले लेखेका हुन् । संगीत निर्देशक अदितको संगीत रहेको यस गीतको म्यूजिक भिडियोलाई अर्फूज्जामनले छायाँकन गरेका हुन् भने वाम्मी रहमानले सम्पादन गरेका हुन् । यस गीतको म्यूजिक भिडियो र कलाकार छनौटका लागि नेपालबाट चित्रकार एवं गायक ज्योतिप्रकाशले संयोजन गरेका थिए । म्यूजिक भिडियोमा अभिनय गर्दै आएका धेरै मोडलहरुमध्ये नारायण ढकाललाई मन पराएको ज्योतिप्रकाशले बताए ।